|

काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। 

फागुन २५ गते हुने राष्ट्रपतिको चौथो निर्वाचनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। शुक्रबार साँझ बसेको चार दलको बैठकले पुस १० गते अगाडि गठबन्धन ब्यूँताउँदै पौडेललाई समर्थन गर्ने निर्णय गरेको थियो। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत र जनमोर्चा मिलेर पौडेललाई समर्थन गर्ने निर्णय गरेको थियो। 

शनिबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिमा अगाडि सार्दै पुस १० गतेको सहमति अनुसार नै अहिलेको गठबन्धन अगाडि बढ्ने निर्णय गरेको छ।

प्रचार विभाग प्रमुख तथा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० गतेको सहमति अनुसार पार्टीको तर्फबाट उम्मेदवारी दिने बताए। 

उनी भन्छन्, ‘आठ दलीय बनेको छैन। सामान्य बसेर कुराकानी मात्रै भएको हो। कुनै सम्झौता भएको छ र ? पुरानो गठबन्धन टुट्यो भनेर कतैबाट आएको छ र ? यो त तपाईँहरूले नै बनाएको प्रश्न मात्रै हो।’

राजनीतिक परिस्थिति नबदलिए उक्त गठबन्धनबाट राष्ट्रपतिमा पौडेल स्वतः विजयी हुनेछन्। राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ। ८ दलीय गठबन्धनसँग ३२ हजार १२३ मतभार रहेको छ भने एमालेसहितको तीन दलसँग १९ हजार ३४२ मतभार रहेको छ। 

प्रतिनिधिसभामा ७७, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १७५ जना सांसद रहेको नेपाली कांग्रेससँग १६ हजार १४२ मतभार रहेको छ। 

यस्तै माओवादी केन्द्रसँग ७ हजार ७४५ , एकीकृत समाजवादीसँग २ हजार ५७४, जनता समाजवादी पार्टीसँग २ हजार १४५, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, उन्मुक्तिसँग ८९२ र जनमोर्चासँग २०६ मतभार रहेको छ। 

एमालेसँग १५ हजार ३९१, राप्रपासँग २ हजार ४५० र स्वतन्त्र पार्टीसँग १ हजार ५०१ मतभार रहेको छ। साथै नेमकिपासँग २२३, हाम्रो नेपाली पार्टीसँग ९६, समाजवादी पार्टीसँग ४८, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र स्वतन्त्रको ७४८ मत रहेको छ। 

को हुन रामचन्द्र?

पुराना राजनीतिज्ञको रुपमा परिचित पौडेल प्रतिनिधिसभाको सभामुख, उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालयको मन्त्री भएर काम गरिसकेका छन्। 

बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ७८ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन्।

प्रतिगमनविरोधी आन्दोलनमा अग्रपङ्क्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरबन्दमा परेका थिए।

२०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि ०४८ को निर्वाचनमा पहिलो पटक सांसद बनेका छन्।

तनहुँ १ बाट विजयी बनेका पौडेल ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भए। ५ वर्ष सभामुख बनेका उनी ०५६ सालमा तनहुँ २ बाट तेस्रो पटक सांसदमा निर्वाचित भए ।

उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बने। ०६२ सालमा कांग्रेस महामन्त्री बनेका पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक भएर काम गरेका छन्। ०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए। सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए। ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए।

उनी प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजय भएको इतिहास छ। ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको निर्वाचनमा उनले १७ पटक पराजय भोगेका थिए।०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पौडेल तनहुँ २ बाट पाँचौं पटक निर्वाचित भए। ०७४ सालको निर्वाचनमा पराजित बनेका पौडेल ०७९ मा भने विजयी बने। 

को हुन नेम्वाङ?

इलाम जिल्लाको सुन्तलाबारीमा जन्मिएका नेम्वाङले कानुनमा स्नातक (बीएल) गरेका छन्। संविधानसभा अध्यक्ष नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए। ​

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भए।

२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसकेका छन्। 

कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसकेका छन्।  विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष थिए।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा  संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा सभामुख  भएका थिए। 

प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए। प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ्ग कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए। 

उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा पनि इलाम २ बाट निर्वाचित भएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.