|

गौर : लघुवित्तको चर्को ब्याजका कारण घरबार बिग्रन थालेपछि रौतहटका विभिन्न ठाउँका पीडितहरू संगठित बन्न थालेका छन्।​

एकैजनालाई समूह बनाएर रौतहटका १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घरमै आएर धम्की दिन थालेपछि पीडितहरू संगठित बन्न थालेका हुन्।

गाउँघरमा ऋणको खाँचो हुनेहरूले लघुवित्तको नियमानुसार १० देखि ५० जनाको महिला समूह गठन गर्नुपर्ने हुन्छ। ऋणको खाँचो बढी हुनेले अरू महिलालाई पनि सम्झाएर समूहमा ल्याउनुपर्छ। समूह र बचत अनुसार लघुवित्तले १ लाखदेखि ५ लाखसम्म ऋण दिने गर्छ।

१ लाख ऋणमा बीमा, आपत्‌कालीन र सेवा शुल्क गरेर १० हजार काट्छन्। ऋणीको हातमा ९० हजार पुग्छ। वर्षमा लघुवित्तलाई १ लाख ६० हजार बुझाउनुपर्छ।

६ हजार बचतमा बस्छ। किस्ता तिर्न आनाकानी गरे त्यही महिला समूह लगाएर घरमा भएको भाँडाकुँडा समेत लाने गरेको भन्दै उनीहरू संगठित बन्दै जान थालेका छन्। रौतहटको चन्द्रपुर नगरपालिकाका दुई गाउँमा मिटर ब्याज तथा लघुवित्तको ठगीविरुद्ध संघर्ष समिति गठन भएको छ।

उनीहरूले रौतहटका गाउँगाउँमा समिति बनाएर जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज र लघुवित्तको ठगीविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन्।​

लघुवित्तको ऋणको पीडामा रौतहटका अधिकांश दलित तथा सुकुमवासी बस्तीका महिलाहरू परेका छन्। शुक्रबार चन्द्रपुर-८ को बेतौनामा उर्मिला देवी पासवानको नेतृत्वमा संघर्ष समिति गठन भएको छ।

शुक्रबार चन्द्रपुर-९ को नयाँ बस्ती कटानीमा पनि लीलादेवी रामको अध्यक्षतामा संघर्ष समिति गठन भएको मिटर ब्याज तथा लघुवित्तको ठगीविरुद्ध संघर्ष समिति रौतहटका संयोजक शिवशंकर महतोले बताए। दुबै वडामा गरी ३ सयभन्दा बढी लघुवित्त पीडितहरूको सहभागिता रहेको संयोजक महतोको भनाइ छ।

रौतहटको चन्द्रपुर नगरपालिमा मात्र लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या दर्जनौँ रहेको महतोको भनाइ छ।

लघुवित्त र सहकारीको ऋण मिटर ब्याजभन्दा कम छैन। बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन। प्रक्रिया नै झन्झटिलो छ। वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन्।

गाउँघरमा महिला मात्र हुने र उनीहरूकै हातमा आर्थिक कारोबारको नेतृत्व हुने गर्छ। यही सामाजिक मनोविज्ञानलाई केन्द्रमा राखेर लघुवित्त सहकारीले महिलालाई लक्षित गरी समूहमा ऋण लगानी गर्ने गरेको सुबलाल भागवत माध्यमिक विद्यालय सन्तपुरका प्रधानाध्यापक देवानन्द चौधरीको भनाइ छ।

अभावमा पिल्सिएका गरिब व्यक्तिसँग ऋणबारे सचेतना छैन। राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन्। अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ।

अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको प्रधानाध्यापक चौधरीको भनाइ छ। लघुवित्तको मासिक किस्ता तिर्न नसके उनीहरूले घरमा रहेको समान समेत बोकेर लान थालेपछि आफूहरू संगठित बन्नुपरेको मिटर ब्याज तथा लघुवित्तको ठगीविरुद्ध संघर्ष समितिका संयोजक महतोको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.