|

सुर्खेत : यार्सागुम्बा जोगाउन डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ। वर्षौँदेखि यार्सागुम्वा संकलनकर्तादेखि पशुचौपाया लिएर पाटन गएकाहरूले गरेको फोहोर सफा गरिएको हो। 

यार्सा संकलन सुरु भएदेखि प्लाष्टिक, सिसा, कपडा र पेय पदार्थका बोतलले  उच्च हिमाली पाटनभरिभराउ भएको थियो । डोल्पाको त्रिपुरासुन्दरी र ठूली भेरी नगरपालिकाका एक दर्जन यार्सागुम्बा पाटन क्षेत्रबाट ७८ क्विन्टल फोहोर संकलन गरेको विश्व वन्यजन्तु कोष डोल्पाका प्रतिनिधि चन्द्र जंग हमालले जानकारी दिए। 

‘आर्थिक, सामाजिक, वातावरणीय र पर्यटकीय क्षेत्रलाई गम्भीर असर पारेपछि अघिल्लो आर्थिक वर्षदेखि अभियान नै चलाएर फोहोर जम्मा गर्न थालेका हौँ’, उनले भने। जम्मा गरिएको फोहोर प्रशोधनका लागि सम्झौताअनुसार भक्तपुरस्थित डोको रिसाइकलर्समा पठाइएको छ। 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार पाटनहरू फोहोरले भरिएपछि केही वर्षयता यार्सागुम्बा लोप हुन थालेको छ । डोल्पा देशमै सबैभन्दा उच्च गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने जिल्लाका रूपमा परिचित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.