|

विराटनगर : विराटनगरका व्यवसायीले एम्जिम कोडलाई सरल र व्यवस्थित बनाउन भन्सार विभागसमक्ष माग गरेका छन्। व्यवसायीहरुले निकासी पैठारीका लागि बैंक ग्यारेन्टी अनावश्यक भएको टिप्पणी गर्दै यसलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिएका हुन्। 

मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश मुण्दडाले १० लाख बैंक ग्यारेन्टीलाई ३ लाखमा झारिनु स्वाग्तयोग्य भए पनि सानो व्यवसायीका लागि उक्त ३ लाख समेत अनावश्यक रहेको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले साउन १ गतेदेखि लागु हुने कोडको व्यवस्था राम्रो भए पनि केही व्यवसायिक कठिनाइ उत्पन्न हने बताए। ‘व्यवसायीलाई करको दायरामा ल्याउने नीति ठीक छ’, उनले भने, ‘कुचोदेखि तरकारीसम्म निर्यात गर्ने व्यवसायीले के गर्ने? यसलाई व्यवस्थित गर्नुपर्छ।’

सरकारले साउन १ गते वैदेशिक व्यापार पारदर्शी र झन्झटमुक्त बनाउन एक्जिम कोड लागु गर्ने घोषणा गरी निकासी पैठारी संकेत नम्बर प्रदान गर्ने कार्यविधि २०७३ ल्याइरहेको बेला बैँकिङ ग्यारेन्टी लगायत केही कुरा झन्झटिलो भएको व्यावसायीको गुनासो छ।

अन्तर्क्रियामा बोल्दै भन्सार विभागका महानिर्देशक रामशरण चिमरियाले भने विभागले लागु गर्न लागेको निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) ले अवैध व्यापारलाई निरुत्साहित गर्ने र सरकारी ढिकुटीमा राजस्व बढ्ने दाबी गरे।

उनले एक्जिम कोड भएको स्वचालित प्रणाली लागु भए पछि सामान आयात र निर्यात हुँदा भइरहेको झन्झट हट्ने बताए। विराटनगर औद्योगिक नगरी भएको हुँदा निकासी पैठारीका लागि व्यवसायीले धेरै समस्या खेप्नुपरेको बताउँदै चिमरियाले अब सबै कुरा डिजिटल सिस्टमबाट हुने हुँदा आफ्नो काम व्यावसायीले घरमै बसेर गर्न र हेर्न सक्ने बताए।

यो व्यवस्था लागु भएपछि आयात निर्यात गर्न चाहनेले अनिवार्य रुपमा कोड लिनु पर्नेछ  एक्जिम कोड कार्यन्वयनमा आएपछि तेस्रो मुलुकबाट नेपाल आउने सामान ल्याउन भारतीय बन्दरगाहमा अहिले लाग्दै आएको ३ देखि ५ दिनको समय छोटिनेछ। एक पटकमा ५० हजार रुपैयाँसम्मको कारोबार गर्ने व्यापारीको हकमा भने कोड लिनु आवश्यक छैन।

नयाँ एक्जिम कोड लागू भए पनि अवैध धनबाट आयात हुने सामाग्रीलाई निरुत्साहित गरी वैध व्यापारलाई प्रोत्साहन गर्ने विभागको योजना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.