|

गुल्मी : गुल्मीमा निर्माण कार्य सुरु गरेको छ वर्ष पूरा हुँदा पनि विद्यालयको भवन निर्माणले पूर्णता पाउन सकेको छैन। जिल्लाको मदाने गाउँपालिका-६ स्थित धाराचौर आधारभूत विद्यालयको १६ कोठे भवनले अझै पनि पूर्णता पाउन नसकेको हो।

भारतीय राजदूतावासबाट प्राप्त १६ कोठे भवन तत्कालीन जिल्ला विकास समिति गुल्मीबाट ठेक्का लगाई २०७३ सालमा निर्माणको जिम्मा प्रवेश शुभनारायण जेभीले भ्याटसहित ९९ लाखमा जिम्मा पाएको थियो।

सम्झौतामा १५ महिनामा भवनको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म निर्माणको कार्यले पूर्णता पाउन सकेको छैन।  पटकपटक गरी तीनपटक म्याद थप हुँदासमेत भवन निर्माण कार्य सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति गुल्मीका निमित्त समन्वय अधिकारी सृजना मिश्रले जानकारी दिइन्।

विद्यालय भवनको करिब ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भए पनि पूरै फिनिसिङ लगायतका केही ससाना कामहरु बाँकी रहेकाले निर्माण ब्यवसायीलाई  कार्य सम्पन्न गरी हस्तान्तरण गर्नका लागि ताकेता गरिएको मिश्रले बताइन्।

निर्माण व्‍यवसायी दिनेश लामाले भने करिब कार्य सम्पन्न भइसकेको र शौचालयमा टायल लगाउने कार्य बाँकी रहेकाले चैतको पहिलो हप्ता कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने गरी आफू लागेको बताएका छन्।

भौगोलिक विकटता र केही बीचमा परेका प्राविधिक समस्याका कारण आफूले समयमै काम सम्पन्न गर्न नसकेको लामाको भनाइ छ।

यस बीचमा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट भवन निर्माणको लागतमा संलग्न नभएका रङरोगन र अन्य केही निर्माणका कार्यहरू गरेको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताएका छन्।

यता, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले निर्माण व्‍यवसायीलाई कार्य सम्पन्न गर्नका लागि ताकेता गरिएको बताएका छन्। शनिबार मात्रै आफू सहितको टोलीले विद्यालयको अनुगमन गरेको भन्दै निर्माण व्‍यवसायीले अबिलम्व कार्य सम्पन्न नगरेमा कानुनी प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने खत्रीको चेतावनी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.