|

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।

सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ।’  

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ। त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुगिन्। तर कसैलाई पनि भेटेकी छैनन्। फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछिन्। ‘अफिसमा गए कोही भेटिनुहुन्न’, उनले भनिन्, ‘फोन गर्दा साउनमा दिन्छौँ भन्नुहुन्छ।’ बिरामी विक पैसा आएपछि शल्यक्रिया गर्ने सोचमा रहेको बताउँछिन्।

तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि सो सहकारीमा बचत गरेका छन्। ‘पसिना बगाएर कमाएर पैसा हो’, उनी भन्छन्, ‘दुःख गरेर बचत गरेको रकम नपाउँदा निकै समस्या भयो।’ उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि नमान्ने गरेको उनको गुनासो छ।  

आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो। अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.