|

काठमाडौं : शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शुक्रबारको पहिलो खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ। यस पटकको लिगमा थ्री स्टारको यो पहिलो जित हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटारलाई २–० ले हराउँदै थ्री स्टारले लिगमा पहिलो जित दर्ता गरेको हो। थ्री स्टारका लागि दुवै गोल अजय मार्टिन कायोडेले गरे।

पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन्। निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो। 

पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेले पनि गोल गर्न असफल भएको थियो। दोस्रो हाफमा थप आक्रामक देखिएको थ्री स्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए।

यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो। जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ। यसै सिजनमा बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ। खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ।

लिगमा शनिबार ३ खेल हुने छन्। दिनको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब, दोस्रो खेल दशरथ रंगशालामा एपिएफ क्लब र जावलाखेल युथ क्लब तथा अन्तिम खेल साँझ दशरथ रंगशालामा नै फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच हुनेछ।

लिग विजेताले ७५ लाख रूपैयाँ पाउनेछ। उपविजेता टोलीले ५० लाख तथा तेस्रो हुने टोलीले २५ लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.