|

संखुवासभा : संखुवासभामा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नारासहित मंगलबार सदरमुकाम खाँदबारीको टुँडीखेल खेल मैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो।

प्रतियोगिताको उद्घाटन संखुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले गरे। उद्घाटन गर्दै प्रदेशसभा सदस्य कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

खेल खेल्नु आफैँमा गौरवको कुरा भएको र यसले शरीरलाई स्वस्थ राख्नुका साथै राम्रो खेल खेल्दा राष्ट्रको पनि गौरव बढ्ने भएकाले खेललाई निरन्तरता दिनु आवश्यक रहेको प्रदेश सदस्य कार्कीको भनाइ छ।

कोशी प्रदेश खेलकुद विकास समितकिा सदस्य सचिव हंशराज वाग्लेले पर्याप्त बजेट जनशक्ति नहुँदा खेलाडी र खेल क्षेत्रको विकास हुन नसकेको बताए। खेलाडी र प्रशिक्षकमा लगानी गर्दा राज्य गरिब नहुने भएकाले प्रदेश सरकारले खेलाडी र खेलकुदमा लगानी आवश्यक भएको उनले बताए। जिल्ला खेलकुद विकास समितिको भवन निर्माणमा समेत आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता उनले जनाए।

फागुन ३० मा शुरु भएको जिल्ला राष्ट्रपति रनिङ शिल्ड चैत २ गते समापन हुने जिल्ला खेलकुद विकास समिति संखुवासभाका अध्यक्ष वकिल राईले जानकारी दिए।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहको सहभागिता रहेको छ। विभिन्न स्वर्ण पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो‚ एथलेटिक्स, करातेलगायतका खेलहरू हुने खेलकुद विकास समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.