|

काठमाडौँ : आईसीसी डिभिजन लिग २ को अन्तिम खेलमा युईलाई हराउँदै घरेलु टोली नेपालले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएसँगै नेपाली क्रिकेटले चौतर्फी माया बटुलिरहेको छ।

कुनै समय एकदिवसीय मान्यता समेत जोगाउन धौ–धौ रहेको नेपालले पछिल्लो पटक खेलेका १२ वटा खेलमध्ये ११ वटा खेलमा उत्कृष्ट जित निकाल्दै अपूर्व प्रदर्शन गरेपछि नेपाली क्रिकेटको चर्चा भइरहेको छ। नेपालका लागि दिलोज्यान दिएर खेल्ने खेलाडीहरूको सुविधा भने चित्तबुझ्दो छैन।

खेल खेलेरै जीविकोपार्जन हुन नसकेपछि दर्जनौं खेलाडी विदेश पलायन भइसकेका छन् भने कैयौँ विदेशिने तयारीमा देखिन्छन्।

एकातिर भौतिक पूर्वाधारको अभाव त अर्कोतर्फ खेलाडीहरूको सेवा सुविधालाई लिएर प्रश्न उठिरहेका वेला यतिखेर केन्द्रदेखि स्थानीय तहसम्म खेलाडीको हौसला दिन लागिपरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त उनीहरूलाई भेटेरै बधाई दिएका छन्।

विभिन्न राजनीतिक दलका नेता, कलाकारदेखि सर्वसाधारणबाट समेत खेलाडीहरूलाई बधाइको ओइरो आउन थालेको छ। सरकारले नेपाललाई सोझै विश्वकप छनोटमा पुर्‍याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ।

मधेश सरकारले पनि उक्त प्रदेशबाट राष्ट्रिय टिममा नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्ने दुई खेलाडी आरिफ शेख र गुल्सन झालाई २/२ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

वीरगञ्ज महानगरपालिकाले आरिफ शेख र आशिफ शेखलाई एक-एकवटा मोटरसाइकल दिने घोषणा गरेको छ भने रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुशल भूर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ।

नेपालको एकमात्रै अन्तरराष्ट्रिय क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.