|

पर्वत : केन्द्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना मन्त्री फिर्ता बोलाएसँगै गण्डकी प्रदेश सरकार धरापमा छ।

गण्डकी प्रदेश सभामा राप्रपाका तर्फबाट दुई जना सांसद छन्। स्याङ्जाबाट निर्वाचित पञ्चराम गुरुङ प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन्। अर्की सांसद हुन्, नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट निर्वाचित विन्दु अधिकारी (पहाडी)। बहुमतको सरकार निर्माणका लागि गण्डकी प्रदेशको हिसाब चाखलाग्दो रहेकाले पनि वर्तमान सरकारको आयु कति बेला सकिन्छ भन्न सकिने अवस्था छैन। 

दुई सिटको राप्रपा अहिले गण्डकीमा एमाले र माओवादी मिलेर बनेको सरकारमा निर्णायक छ। ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। एमालेका २२, माओवादीका ७ (सभामुख बाहेक) र राप्रपाका दुई गरी ३१ सांसदको समर्थन मुख्यमन्त्री अधिकारीलाई छ। राप्रपाले साथ नदिँदा बित्तिकै एमालेका खगराज अधिकारीको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने छ। राप्रपाले केही नगरे पनि एमाले आफैँ सरकारबाट बाहिरिने अवस्था पनि टाढा छैन। केन्द्रीय सरकारमा प्रतिपक्षमा बस्ने निर्णय गरेको एमालेले प्रदेशमा सरकारको बागडोर पनि छाड्ने छ। प्रदेश सरकार स्वायत्त रहने भनिए पनि संघीय राजनीतिको सिधा प्रभाव प्रदेशमा पर्दै आएको छ। 

एमालेका मुख्यमन्त्रीको बहिर्गमनको सम्भावना बढ्दै गइरहेको बेलामा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको माओवादीले गण्डकी प्रदेश सरकारको नेतृत्वका लागि आफ्नो दाबी गरिरहेको छ। गण्डकीमा अहिलेसम्म तीन जना मुख्यमन्त्री बनेका छन्। पहिलो एमालेका तर्फबाट पृथ्वी सुब्बा गुरुङ, दोस्रो नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल र तेस्रो एमालेका अधिकारी (बहालवाला)। यस अगाडिका एमाले र कांग्रेसलाई सघाएर मुख्यमन्त्री बन्न सहयोग गरेकाले अबको मुख्यमन्त्रीमामा आफ्नो दाबी रहने माओवादी संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान बताउँछन्। 

‘केन्द्रीय सरकारमा नेकपा (एमाले) ले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। प्रदेशमा भने उहाँहरू हट्नुभएको छैन। संघमा हटेपछि प्रदेशमा पनि पक्कै हट्नुहुन्छ’, उनले भने, ‘उहाँहरू यही अवस्थामा रहँदा हामीहरूबीच पनि ठोस निर्णय भएको छैन। उहाँहरू हटेपछि गण्डकीको मुख्यमन्त्रीमा माओवादीले दाबी नगर्ने भन्ने त कुरै हुँदैन। यस पटकको स्वतः दाबी हाम्रो हो।’ माओवादीले सरकारको नेतृत्व गर्नै हुन्न भन्ने नभएकोले प्रदेशको चौथो मुख्यमन्त्रीमा आफूहरूको दाबी रहेको चुमान बताउँछन्। यो पटकको नेतृत्व लिन केन्द्रमा पनि स्पष्टसँग कुरा राखेको उनले बताए। 

‘भागवण्डा मिलाउन माथिबाट निर्णय गरेर गण्डकी अर्कैलाई छाड्नुपर्ने स्थिति आयो भने के गर्नुहुन्छ?’ भन्ने प्रश्नमा नेता चुमानले यस पटक केन्द्रले पनि प्रदेशमा माओवादी ‘ब्याक’ नगर्ने गरी निर्णय गर्नेमा आफू ढुक्क रहेको बताए। अरूको नेतृत्वमा सरकार बनाउनको लागि माओवादी आवश्यक छ भन्ने कुरालाई चिरेर माओवादी आफैँले नेतृत्व गर्न सक्न भनेर देखाउनुपर्ने सोचमा चुमान छन्। 

‘गण्डकीमा माओवादीले अरूलाई सधैँ सघाउने मात्रै होइन, ऊ आफैँ नेतृत्व गर्न सक्छ भन्ने कुरा माथिबाट पनि आउला’, उनले थपे, ‘यो कुरा माथि पनि स्पष्ट रूपमा राखिएको छ। ‘ब्याक’ हुनुपर्ने अवस्था रहेमा अरू प्रदेश पनि छन् उताबाट मिलाउने हो। गण्डकीमा प्रदेशमा हाम्रो भूमिका अरूलाई सघाउनको लागि मात्रै होइन।’

त्यसो भए वर्तमान सरकार कहिले ढल्छ त? भन्ने प्रश्नमा उनले प्रदेश सरकारहरूमा केन्द्रीय सरकार तथा राजनीतिको सिधा प्रभाव पर्ने भएकोले वर्तमान सरकार धेरै दिन जान नसक्ने बताए। यही समयमा नै परिवर्तन हुन्छ भन्ने यकिन नभए पनि केन्द्रको निर्णयका कारण नै वर्तमान सरकार रहन नसक्ने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.