एक्सबीबी १.१६’को पुष्टिसँगै स्वाद र गन्ध थाहा नपाउने लक्षण वृद्धि

|

काठमाडौं : नेपालमा पछिल्लो दिनमा कोभिड संक्रमण पुनः बढ्दै गएको छ। यसको प्रमुख कारण कोभिड १९ को ओमिक्रोनको  नयाँ सबभेरिएन्ट ‘एक्सबीबी १.१६’ भएको पुष्टि भएको छ।

पछिल्ला दिनमा भारतमा कोभिड तीव्र रूपमा फैलिएको छ। त्यसको प्रभाव नेपालमा परेको देखिन्छ। जसले गर्दा पछिल्ला दिनमा स्थल सीमा नाका हुँदै भारतबाट नेपाल भित्रिनेमा धेरै संक्रमण समेत देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको सिक्वेन्सिङ गर्दा २४ वटैमा ओमिक्रोन भेरिएन्ट भेटिएको हो। यसमा अहिले भारतमा फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरिएन्ट रहेको पुष्टि भएको हो।

सिक्वेन्सिङ एक्सबीबी १.१६ बाट १० जना, एक्सबीबी १.५ बाट तीनजना, एक्सबीबी २.६ बाट र एक्सबीबी १ बाट एक–एकजना प्रभावित भएको पाइएको हो।

यसबाहेक अन्यमा ओमिक्रोनकै बीए १.१ बाट दुईजना, बीए २ बाट दुईजना, बीए २.७६ बाट एकजना, बीए ५ बाट दुईजना र बीए ५.२ बाट दुईजना प्रभावित भएका छन् ।

कत्तिको आक्रामक छ ‘एक्सबीबी १.१६’ भेरिएन्ट

ओमिक्रोनको एक्सबीबी १.१६ सबभेरिएन्ट नेपालमा देखिएसँगै अब केही समय नेपालमा पुनः संक्रमण बढ्न सक्ने विज्ञहरूले बताएका छन्। अर्को कुरा ओमिक्रोनको यो सबभेरिएन्ट ओमिक्रोनको यसअघि देखिएका सबभेरिएन्टभन्दा अझै आक्रामक रहेको समेत विज्ञहरूले बताएका छन्।

संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइरालाका अनुसार ‘एक्सबीबी १.१६’ सबभेरिएन्ट ओमिक्रोन भेरिएन्टको अन्य सबभेरिएन्टभन्दा अलि संक्रामक रहेको हुँदा सचेत रहनुपर्ने अवस्था आएको बताउँछन्।

‘एक्सबीबी १.१६’ सब भेरिएन्ट ओमिक्रोन भेरिएन्टको अन्य सब भेरिएन्टभन्दा अलि संक्रामक र संक्रमण पछि गम्भीर हुने दर पनि अलि धेरै रहेको देखिन्छ’‚ डा. कोइरालाले भने‚ ‘अलि कडा लक्षण देखाउने र केहीलाई निमोनिया समेत बनाउँछ। यसले गर्दा सचेत हुनुपर्ने अवस्था आएको छ।‘

फाइजरको ‘बाइभ्यालेन्ट’ खोपले काम गर्छ एक्सबीबी १.१६’ लाई

धेरै संक्रामक र संक्रमणपछि कडा लक्षण र केहीलाई गम्भीर बनाउने भए पनि एक्सबीबी १.१६’ सबभेरिएन्टलाई कोभिडविरुद्धको फाइजरको ‘बाइभ्यालेन्ट’ खोपले काम गर्ने डा. कोइरलाले बताए।

‘बुस्टर लगाएको ६ महिनादेखि एक वर्ष भएकाहरूले फाइजरको ‘बाइभ्यालेन्ट’ खोप अब लगाउने हो भने एक्सबीबी १.१६’ संक्रमणबाट हुने संक्रमणदर कम गराउनुका साथै संक्रमणपछि हुने गम्भीरता समेत कम गर्छ। हाम्रोमा पनि यो खोप उपलब्ध छ। त्यसैले बुस्टर डोज लगाएको ६ महिनादेखि एक वर्ष भएकाले यो खोप लगाउनु राम्रो हुन्छ’‚ डा. कोइरालाले भने।

सकभर ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई एक्सबीबी १.१६’ को संक्रमणबाट बचाउन बुस्टर डोज खोप लगाउनुपर्ने आवश्यकता आएको समेत डा. कोइरालाले बताए।

यता नेपालमा कोरोनाविरुद्धको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप नेपालमा बुस्टर डोजका लागि मात्र प्रयोग गरिएको छ। नेपालमा हाल १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई ‘बुस्टर’का रूपमा दिँदै आइएको फाइजरको ‘बाइभ्यालेन्ट’खोप  ओमिक्रोन र यसका सब भेरिएन्टविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ।

नेपालमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ गाभीले कोभ्याक्समार्फत जर्मन सरकारले १५ लाख डोज फाइजरको ‘बाइभ्यालेन्ट’ खोप नेपाललाई दिएको थियो।

एक्सबीबी १.१६’को पुष्टिसँगै स्वाद र गन्ध थाहा नपाउने लक्षण वृद्धि

एक्सबीबी १.१६’ भेरिएन्टको लक्षण यसअघिको ओमिक्रोन भेरिएन्टको भन्दा अलि फरक खालको रहेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन। एक्सबीबी १.१६’को लक्षण धेरै जस्तो डेल्टा भेरिएन्टसँग मिल्दोजुल्दो देखिएको समेत उनले बताए।

नेपालमा ओमिक्रोनभन्दा अगाडि देखिएका कोभिडको भेरिएन्टहरूमा मुख्य लक्षणको रूपमा देखिएको स्वाद र गन्ध हराउने लक्षण एक्सबीबी १.१६’मा देखिएको डा. पुनले बताए। डा. पुनले भने‚ ‘पछिल्ला दिनमा आउने धेरै संक्रमितले स्वाद र गन्ध हराउने,शरीर धेरै दुख्ने तथा टाउको दुख्ने लक्षण लिएर आउनुभएको छ। हाम्रोमा अहिले एक्सबीबी १.१६’ भेरिएन्ट पनि पुष्टि भइसकेको छ। त्यसैले अहिले एक्सबीबी १.१६’ आएसँगै स्वाद र गन्ध थाहा नपाउने लक्षण फेरि देखिएको छ’‚ उनले भने।

यस्तै संक्रामक रोग विशेषज्ञ प्राध्यापक डा. कोइराला पनि एक्सबीबी १.१६’का मुख्य लक्षण डेल्टा भेरिएन्टसँग धेरै मिलेको पाइएको बताउँछन्। उनका अनुसार एक्सबीबी १.१६’को मुख्य लक्षणमा स्वाद र गन्ध थाहा नपाउने, आँखा दुख्ने, अत्यधिक थकान महसुस, खोकी लाग्ने, जाडो हुने, शरीर तातो हुने तर ज्वरो भने धेरै नआउने र टाउको र शरीर अत्यधिक दुख्ने जस्ता मुख्य लक्षण देखिने गर्छ।

‘यसअघि हाम्रोमा देखिएको डेल्टा भेरिएन्टले जस्तो गम्भीर नभए पनि धेरै लक्षणहरू डेल्टा भेरिएन्टसँग मिल्ने हुँदा, संक्रमणपछि गम्भीर हुने दर ओमिक्रोनको अन्य भेरिएन्टभन्दा अलि धेरै हुने देखिन्छ जसले गर्दा लक्षण देखिनासाथ परीक्षण तथा चिकित्सकको निगरानीमा बस्नु पर्ने देखिन्छ’‚ डा. कोइरालाले भने।

यता संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले  लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेशनमा बस्न अनुरोध गरेको छ। मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन र संवेदनशील हुनसमेत मन्त्रालयले आग्रह हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.