प्रवेश परीक्षा नलिन सरकारकाे निर्देशन

|

काठमाडौं : निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छन् भनिँदै आए पनि कहिले बढी शुल्क लिएर त कहिले विद्यार्थी तथा अभिभावकलाई तनाव दिएका कारण विवाद आइरहन्छ। नयाँ शैक्षिक सत्र नजिकिँदै छ।

२०८० सालको नयाँ पठनपाठन आगामी वैशाख १ गतेबाट शुरु हुँदै छ। यसका लागि विद्यालयहरूले नयाँ भर्ना कार्यक्रम धमाधम अगाडि बढाइरहेका छन्।

यही दाउमा नाम चलेका निजी विद्यालयले मनोमानी ढंगले भर्ना लिन थालेका छन्। त्यसैले ललितपुर महानगरपालिकाले सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्नामै रोक लगाएको छ। ललितपुर महानगरपालिकाको शिक्षा विभाग प्रमुख महेन्द्रबहादुर क्षेत्रीले नयाँ भर्नामा एकरूपता नभएकाले भर्नामा रोक लगाएको जानकारी दिए।

‘मेयर साबले चिठी पठाएर रोक्न लगाउनु भएको हो। पछि बोलाएर डकुमेन्ट हामीले पठाएको छौँ’‚ उनले भने, ‘महानगरले समावेशी कोटाबाहेक सबै खुला गरिदेऊ भनेको हो। त्यहाँका शिक्षक र स्टाफका छोराछोरीका लागि ५० प्रतिशत काेटा छुट्याएर बाँकी कोटा बाँड्ने भन्ने हो। महानगरपालिका र वडाका लागि कोटा नराख, जुन समावेशी दलित, अपांग छ‚ ती कोटा यथावत् राख्ने र अरूका लागि छनोट गर्ने भनेको हो।’

‘राज्यको नीति नियम मान्नुपर्छ, नमाने स्कुल बन्द गर्नुपर्छ’

शिक्षा अभियन्ता एवं वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारीले राज्यबाट अनुमति लिएपछि राज्यको नियमन निकायको नीति, नियम सबैले मान्नुपर्ने र नमानेमा विद्यालय बन्द गर्नुपर्ने बताए।

उनले सामाजिक सञ्जालमै भनेका छन्, ‘सेन्ट जेभियर्स स्कुलबारे मेरो पोस्टपछि ललितपुर महानगरपालिकाका प्रमुख मेयर चिरीबाबु महर्जन टेलिफोन संवाद भयो। उहाँका अनुसार सो स्कुलले कक्षा १ मा १७० जना भर्ना लिने र त्यसमध्ये सर्वसाधारणका लागि (कोटाबाहेक) मुस्किलले २० वटा सिट वितरण हुने रहेछ।’

उनले अधिकांश कोटा स्कुलले निकट र ठूलाबडालाई छुट्याउने रहेको पाइएको बताए। ‘चार हजारभन्दा बढीको आवेदन लिएर तिनका अभिभावकको अन्तरवार्ता सकिएको छ। ती अभिभावकमाथि ठूलो अन्याय स्कुलले गर्न खोज्दै छ’, उनले भने।

उनका अनुसार सेन्ट मेरिज स्कुलले पनि आफ्नो तरिकाबाट भर्ना गरेको जानकारी छ। ‘ललितपुर महानगरपालिकाले सेन्ट जेभियर्स स्कुलमा मात्र ध्यान केन्द्रित गरेको छ। सेन्ट मेरिज स्कुलप्रति नजरअन्दाज गर्नु भुल हो। यहाँ पालिका चुक्यो, आगामी वर्ष त्यस स्कुललाई पनि कानुनी दायराभित्र ल्याई सेन्ट जेभियर्स स्कुललाई जस्तै समान व्यवहार गर्न महानगरप्रमुखलाई अनुरोध गर्दछु’‚ उनले भनेका छन्।

छलफल गर्दै छौँ : प्रधानाध्यापक एस.जे.

सेन्ट जेभियर्स स्कुलका प्रधानाध्यापक सामुअल सिमिक एस.जे.ले भर्ना रोक्का विषयमा महानगरपालिकासँग छलफल गरिरहेको जानकारी दिए।

उनले भने, ‘पहिला सूचना निकालेर भर्ना शुरु गरेका थियौँ। सूचनामा विवाद आयो भनेर महानगरपालिकाले चिठी लेखेर भर्ना रोक्का गरेको छ। हामी छलफलमै छौँ। हामीले भनेको कुरा महानगरले मानेको छैन। महानगरका अनुसार हामीले गरेको कोटा वैधानिक छैन भनेर भनेको छ।’ तर त्यस्तो नभएको उनले जिकिर गरे। 

प्रवेश परीक्षा लिन नपाइने

सरकारले कक्षा १ मा भर्ना गर्न इन्ट्रान्स (प्रवेश) परीक्षा लिन रोक लगाएको छ तर यसअघि बालबालिकालाई कत्रो बोझ : एक कक्षामै भर्ना हुन 'इन्ट्रान्स' ! परीक्षा लिइएको थियो। सेन्ट जेभियर्सलगायत कतिपय विद्यालयले प्रवेश परीक्षा लिएका थिए।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार सेन्ट जेभियर्स, बूढानीलकण्ठ स्कुल, रातो बंगला, पाठशालालगायत चलेका स्कुलमा कक्षा १ मा भर्ना गर्न परे पहिला प्रवेश परीक्षा लिन्छन्।

यी चलेका मात्र नभई पछिल्लो समय अन्य निजी विद्यालयले परीक्षा लिन्छन् तर यसले बालबालिकालाई नकारात्मक असर पुग्ने भएकाले परीक्षा नलिन उनी माग गर्छन्।

सरकारले पटक-पटक प्रवेश परीक्षा नलिन निजी विद्यालयलाई निर्देशन दिइरहेको छ। गत पुसमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रवेश परीक्षा लिँदा बालबालिकाको मानसिकतामा असर पुगेको गुनासो आएपछि प्रवेश परीक्षा नलिन निजी तथा सरकारी विद्यालयलाई निर्देशन दिइसकेको छ।

विकास केन्द्रले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन र सोसँग सम्बन्धित तयारी कक्षा सञ्चालन गर्ने जस्ता कार्य भए आ-आफ्नो क्षेत्रभित्र अनुगमन गरी त्यस्तो हुन नदिन स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ सबैलाई निर्देशन दिइसकेको छ। केही निजी विद्यालयले भने अटेर गर्दै प्रवेश परीक्षा तालिका सार्वजनिक गरेका छन्।

चावहिलस्थित हिलारी इङलिस हाईस्कुलले पनि कक्षा १ देखि ९ सम्मका लागि प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ। विद्यालयले प्रवेश परीक्षा चैत २५ गते हुने गरी सामाजिक सञ्जालमै विज्ञापन गरेको छ। तैपनि नियामक निकाय माैन छ।

सेन्ट जेभियर्सले अहिले पनि भर्नामा प्रक्रिया अर्कै अपनाएको छ। अभिभावकसँग अन्तरवार्ता लिइन्छ। ‘प्रवेश परीक्षाविरुद्ध कलम चलाउँदा चलाउँदा गोला प्रथासम्म ल्याइएको छ, गोलाप्रथा पूर्व अभिभावकको अन्तरवार्ता लिने र छानिएका मात्र गोला प्रथामा समेट्ने गलत कार्य गरिँदै छ। जति विद्यार्थीले आवेदन दिएका छन् ती सबैलाई गोला प्रथामा समेट्नुपर्छ’‚ शिक्षा अभियन्ता अधिकारीले भनेका छन्।

ललितपुर महानगरपालिकाको शिक्षा विभाग प्रमुख क्षेत्रीले भर्ना प्रक्रिया, शुल्कलगायत विषयमा कसरी एकरूपता ल्याउने भन्नेमा शिक्षा समिति बैठक बसेर निर्णय गर्ने बताए।

प्रवेश प्रवेश परीक्षा लिन नपाइने र महानगरपालिकाले यसका लागि अनुमति नदिने उनको भनाइ छ। ‘शुल्क, भर्ना विषयमा केही यहाँ रिट परेको छैन। तैपनि हामीले व्यवस्थित पार्न बैठक बस्नेछौँ’‚ उनले भने।

काठमाडौं महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले अभिभावकबाट लिखित रूपमा विभागका निवेदन भने नपरेको जानकारी दिइन्। निजी विद्यालयले आफूखुसी विद्यालयमै पाठ्यपुस्तक र पोसाक खरिद गर्नुपर्ने भन्ने गुनासो भने आएको उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.