|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन्। 

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको जिकिर थियो। श्रमिक समुदाय मोर्चा नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैँ समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्कसमेत गरे।

उनले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादिरहेको आरोप पनि लगाए। विप्लवले भने, ‘जातिवाद समाजको लागि घातक कुरा हो। त्यो स्विकार्य हुँदैन तर पहिचान भनेको छुट्टै कुरा हो। जातिको आफ्नो भाषा, संस्कृति, आफ्नो स्वतन्त्रता चाहिन्छ। पूर्वका किरात प्रदेश राखे के फरक पर्छ? अझ लिम्बुहरुको पनि छ‚ कोचको पनि छ। त्यो सबैलाई जोडेर कोच, लिम्बु, राई सबैको केन्द्रित गरेर त्यहाँका जनताहरुलाई चित्त बुझ्दो साझा नाम राखे के फरक पर्छ? के कोशी राख्ने बित्तिकै त्यहाँ जातिय पहिचान नहुने अरु राखेपछि मात्रै हुने कुरा हो? त्यहाँ जनता सन्तुष्ट हुनुपर्छ र जनता आफैँले आफू समाहित भएको, समेटिएको, आफ्नो स्वतन्त्रता कायम भएको अनुभूति गर्नु पर्छ। प्रजातन्त्र भनेको जनताको अनुभूति हो। जनता पीडित भएको अनुभूति गर्छन् भने त्यो प्रजातन्त्र अधिनायकवादी हुन्छ।’

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्विकार्य नहुने पटकपटक दोहोर्‍याए। उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.