|

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक छिट्टै विस्तार हुने बताएका छन्।

प्रदेशसभा सदस्य, भौतिक मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख, मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रहरी प्रमुखसहितको टोली लिएर त्रिवेणी पुगेका उनले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताए।

स्थानीयले बाटो विस्तारको कुरा पटक–पटक भए पनि काम नभएकाले तत्काल काम सुरु गराउन आग्रह गरेपछि मुख्यमन्त्री अधिकारीले सडकको काम छिट्टै सुरु गरिने आश्वासन दिएका हुन्।

‘अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भएको थिएन। अहिले त्योसँगै आवश्यक काम अगाडि बढाउन सहमति बनेको छ‚ भोलिबाट नै आवश्यक कामहरू सुरु हुन्छ’, उनले भने‚ ‘यो बाटो प्रदेशको लाइफ लाइन हो, सुरुवातदेखि नै  म लागिरहेको थिएँ। खास गरी निकुञ्ज क्षेत्रभित्र देखिएको समस्या अब टुङ्गिएको छ। अब वन्यजन्तुलाई कुनै असर नपर्ने गरी काम अगाडि बढाउने छौँ।’

उनले आफूसँगै पुगेका सम्बन्धित कार्यालयका प्रमुखहरूलाई तत्कालै काम सुरु गर्न पनि निर्देशन दिए।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मुख्यमन्त्री अधिकारीले प्रदेशको लाइफ लाइनको रूपमा त्रिवेणीदेखि कोरला नाकासम्मको बाटो विस्तार गरिने बताएका थिए। उनले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सडक विस्तारका लागि सहमति पत्र दिन प्रदेश सरकारसँग निरन्तर पहल पनि गरेका थिए।

उनले मित्र राष्ट्र भारतको सीमानाकाबाट गण्डकी प्रदेशको राजधानीसम्म पुग्ने सडकले प्रदेशको समृद्धिमा ठूलो योगदान दिने उल्लेख गरे।

‘आफ्नै प्रदेशको बाटो हुँदाहुँदै पनि अर्को प्रदेशबाट आवतजावत गर्नुपर्ने अवस्था छ। हामी यसलाई अन्त्य गरेर हाम्रै प्रदेशबाट सीमासम्मै आवतजावत गर्न सहज बनाउने छौँ’, अधिकारीले भने, ‘यसले जनताको आवतजावत मात्रै होइन व्यापारिक दृष्टिकोणबाट पनि ठूलो राहत मिल्नेछ। व्यवसायीहरुलाई पनि सहज हुनेछ।’

मुख्यमन्त्री अधिकारीले सडक डिभिजन कार्यालयका प्रमुख, ठेकेदार र स्थानीय पालिका प्रमुखहरूसँग भेट गरी सडक विस्तार कार्यप्रगतिबारे जानकारी पनि लिएका छन्।

भौतिक विकास तथा यातायात मन्त्रालयका सचिव तुलसी भट्टराईले काम अन्तिम चरणमा पुगेका खण्डमा असारअगावै काम सम्पन्न गराउन निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए।

उनले अन्य खण्डमा पनि कामलाई जतिसक्दो टुङ्गोमा पुर्‍याउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने सहजीकरण र समन्वय गरिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.