|

विराटनगर : लिम्बू समुदायको धार्मिक आस्थासँग जोडिएको ‘सिलाम–साक्मा’ पछिल्लो समय महिला दिदिबहिनीका लागि व्यवसायको आधार बन्दै गएको छ।

लिम्बू बाहुल्य क्षेत्रमा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ‘सिलाम–साक्मा’ लगाइदिएर स्वागत सम्मान गर्ने गरिन्छ भने अन्य समुदायका पाहुनालाई चिनो स्वरूप दिइने गरिन्छ।

घरमा मात्रै प्रयोग गरिने सिलाम–साक्मा पछिल्लो समय बजारमा कार्यक्रमका लागि माग बढ्दै गएकाले पनि व्यवसायीकरण भएको विराटनगर–११ की शर्मिला देवान बताउँछिन्। विभिन्न सार्वजनिक कार्यक्रममा ब्याचको सट्टा सिलाम-साक्मा प्रयोग गरिने गरिन्छ भने आज भोलि लिम्बू समुदायको विवाह कार्यक्रममा पनि महिला र पुरुष दुवैजनालाई छातीमा सिलाम–साक्मा लगाइदिने गरेको उनी बताउँछिन्। उनले ६ वर्ष अगाडिदेखि घरको प्रयोजनका लागि मात्रै बनाउँदै आएकी थिइन्। विराटनगरमा हुने कार्यक्रममा सिलाम–साक्माको माग बढेदेखि यता व्यावसायिक हिसाबले अगाडि बढेको उनी सुनाउँछिन्।

‘विराटनगरको चुम्लुङ‚ यायोख्खाको कार्यक्रम हुँदा धरानदेखि सिलाम–साक्मा ल्याउनुहुन्थ्यो। मैले चाहिँ घरमा मात्रै प्रयोग गर्ने हिसाबले बनाउने गरेकी थिएँ’‚ उनले सुनाइन्, ‘पछि कार्यक्रममा माग बढेपछि मैले यसलाई व्यावसायिक हिसाबले अघि बढाएकी हुँ।’

समय हुँदा दैनिक १० वटासम्म सिलाम–साक्मा बनाउने गरेको बताउँदै उनले युके, हङकङसम्म निर्यात गर्ने गरेको बताइन्। प्रतिगोटा एक सय रुपैयाँको दरले बेच्ने गरेको बताउने उनी यसलाई लिम्बूको धार्मिक र मुन्दुम अनुसार बनाउँदा आस्था नमर्ने समेत बताइन्।

बाँसका दुई कप्टेरामा नौवटा रंगको धागो हातले जोडेर बनाइने चारकुने सिलाम साक्मा छेउमा फुर्का राखिने गरेको उनले सुनाइन्।

विराटनगर–३ मा बस्दै आएकी संखुवासभाकी इसा याख्खा पनि अर्डर अनुसार सिलाम–साक्मा बनाउने र बिक्री गर्ने गर्छिन्। दैनिक ९ वटासम्म बनाउन सकिने बताउने उनी साधारण भए प्रतिगोटा एक सय र माला जडिएको भए तीन सय देखि चार समयसम्म बिक्री गर्दै आइरहेको बताउँछिन्।

खटिएर मार्केटिङ गर्न सके यसको व्यवसाय राम्रो हुने अनुभव सुनाउँदै उनी भन्छिन्, ‘खट्दा राम्रो व्यापार हुन्छ, पछिल्लो समय चिनो स्वरूप, कार्यक्रममा ब्याचको सट्टा यसको माग बढेको छ तर मार्केटमा खट्न सक्नुपर्छ।’

 के हो सिलाम साक्मा ?

‘सिलाम साक्मा’ भनेको लिम्बू भाषमा मृत्युको बाटो छेक्ने भन्ने अर्थ रहेको लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष याङ लागती बताउँछन्।

उनका अनुसार ‘सी’ भनेको मृत्यु, ‘लाम’ भनेको बाटो र ‘साक्मा’ भनेको  रोक्नु भन्ने अर्थ लाग्छ। तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा को सम्बन्ध रहेको बताउँदै उनले मृत्युको बाटो रोक्ने संकेतका रूपमा सिलाम साक्मालाई लिइने गरेको उनी बताउँछन्। पहिले घरको धुरी र ढोकामा राखिने चलन रहेको बताउने उनी पछिल्लो समय विभिन्न समारोह र कार्यक्रममा प्रायोग हुन थालेको बताउँछन्।

‘उहिले तङसिङ तक्मा लिम्बूहरूको ठूलो अनुष्ठानमा भेला भएका सबै दाजुभाइलाई बाँड्ने चलन छ। घरको धुरीमा या दैलोमा झुन्ड्याउने चलन छ। यो एकदम पवित्र चिज हो’, उनले भने, ‘पछिल्लो समय पाहुना तथा सार्वजनिक समारोहमा प्रयोग गर्न थालिएको छ।’​

व्यवसायीकरण हुँदै गर्दा यसको विधि भुल्न नहुने तर्क राख्दै उनले ९ डोरोको नै बनाउनुपर्ने बताउँछन्। ‘पछिल्लो समय कसैले कति डोरो कतिले कति डोरो बनाउँछ भन्छन्’‚ उनी भन्छन्,‘ यो ९ ग्रह सँग जोडिएकाले ९ डोरोको नै हुनुपर्छ, धार्मिक आस्थासँग जोडिएकाले यो एकदम पवित्र चिज हो ।’

सिलाम साक्मालाई जीवनको सुरक्षा कवचको रूपमा लिइने उनको तर्क छ। अकालमा मृत्यु भएकाको नराम्रो आत्मालाई ठेगान लगाउन याग्रासिङ अनुष्ठान गरिने चलन रहको बताउँदै उनले यही अनुष्ठानमा प्रयोग हुने सिलाम–साक्मा जीवन रक्षाका लागि प्रयोग गरिने गरेको बताए। 

यसको पवित्रीकरण भुल्नु हुँदैन

लिम्बू समुदायको पवित्र चिह्न व्यवसायीकरण हुनु सकारात्मक पाटो भए नि यसको पवित्रीकरण बुझ्न जरुरी रहेको उनी बताउँछन्। यसलाई पवित्र स्थानमा राखिने भएकाले जथाभावी प्रयोग गर्न नहुने उनको बुझाइ छ।

‘मैले धरानमा देखेको थिएँ, एउटाले सारीको तल्लो भागको पारीमा लगाइएको र ताङ्बामा लगाइएको थियो। मैले यसको महत्त्वको विषयमा त्यही वेला भनेको थिएँ’‚ उनले भने, ‘पुर्खाले गरी ल्याएको धार्मिक पवित्रतासँग जोडिएका विषयको महत्त्व व्यवसाय गर्नेहरूले बुझ्न जरुरी छ।’

कार्यक्रममा छातीमा राख्नु अर्थात् प्रायोग गर्न मिल्छ? भन्ने प्रश्नमा उनले छाती पवित्र स्थान भएकाले सम्मानका साथ प्रयोग गर्न मिल्ने उनको तर्क छ। पहिले केही कुरामा प्रयोग नहुने नितान्त अनुष्ठानमा मात्रै प्रयोग हुने सिलाम–साक्मा अहिले भुइँतिर फाल्ने जस्ता गतिविधिले यसको पवित्रतामा आँच पुगेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.