|

बारा : उपनिर्वाचनको समय नजिकिँदै जाँदा बारा २ का मतदाता आफ्नो मतको लायक प्रतिनिधिबारे विषेश चर्चामा व्यस्त भएका छन्। वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा कसलाई रोज्ने भन्ने विषय बारे स्पष्ट हुन मतदाता जुटेका हुन्।

१ लाख ५ हजार २९८ मतदाता रहेको बारा क्षेत्र नं. २ बाट ३६ जनाले उम्मेदवारी दर्ता गराए पनि ४ उम्मेदवार चर्चामा छन्।

चर्चामा रहेका मध्ये एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्वमन्त्री पुरुषोत्तम पौडेल बाहेकका जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका उम्मेदवार रमेश खरेल तीनैजना गत मंसिरको आम चुनावमा हारेका उम्मेदवार हुन्।

बारा–२ बाट गत आम चुनावमा जसपाको रामसहाय यादव विजयी भएका थिए। उनी उपराष्ट्रपति भएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो। गत निर्वाचनमा जसपाकै केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएर ११ हजार ४३ मत प्राप्त गरेका थिए।

उनै यादव जसपामा फर्किनु र कांग्रेसका बागी उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रविन्द्रप्रसाद यादवले पनि समर्थन दिनुले उपेन्द्र यादवलाई फाइदा पुग्ने देखिएको छ।

रविन्द्रप्रसाद यादव संविधान सभाका पूर्व सदस्य तथा ३ कार्यकाल नेपाली कांग्रेसको बारा जिल्ला सभापति भएका राधेचन्द्र यादवका भतिजा हुन्। उनको समर्थनले कांग्रेसभित्रको एउटा ठूलो तप्काको समर्थन जसपा अध्यक्ष यादवलाई छ भन्ने अनुमान धेरैको छ तर  उपेन्द्र यादव स्थानीय नहुनुले कांग्रेसले इमान्दारीता निभाउनेमा गठबन्धनभित्रै शंका उत्पन्न भएको छ।

सत्ता गठबन्धनको अर्को ठूलो दल माओवादी केन्द्रको मत बाँडिएर कुशवाहाको पक्षमा जाने निश्चित छ। यद्यपि, यस क्षेत्रमा जमेका पूर्व-माओवादी नेता प्रभु साह नेतृत्वको आमजनता पार्टीका तर्फबाट अरुण कुमार ज्ञवाली उम्मेदवार बनेका कारण पहाडी मूलको केही मत र माओवादी केन्द्रको केही मत उनको पक्षमा पनि जानेछ। जसले गर्दा उपेन्द्रलाई नै असर पर्ने देखिन्छ।

यसरी मधेसी समुदायको बाहुल्यता रहेको बारा २ मा दुई भागमा मत विभाजित हुने भएको छ। यस क्षेत्रको मत यादव समुदाय र अन्य समुदायमा विभाजित छ। जातीय हिसाबले यादव समुदायको मत सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले पाउने ठानिए तापनि सप्तरीमा हारेका उम्मेदवारलाई खडा गरेको भन्दै असन्तुष्ट यादव समुदायको पूरा मत प्राप्त नहुने अवस्था छ।

यसकारण भूगोलको मत ज्ञवाली र कुशवाहालाई जानेछ। कुशवाहा बारा–२ अन्तर्गतको महागढीमाई नगरपालिका बरियारपुरका स्थानीय हुन् भने ज्ञवाली महागढी माई नगरपालिका गंजभवानीपुरका हुन्। यसले पनि उपेन्द्रलाई चुनाव जित्न फलामको चिउरा सरी हुने देखिएको छ।

 

यसैबीच, नेकपा एमालेबाट उम्मेदवार बनेका पुरुषोत्तम पौडेललाई पनि यस क्षेत्रमा चुनाव जित्न कठिन छ। यो क्षेत्रमा एमाले मत काट्ने फ्याक्टरको रूपमा मात्रै रहने भएको छ। भूगोलको हिसाबले बाराकै भए पनि पौडेललाई बारा–२ बाट पर्याप्त मत प्राप्त हुने अवस्था छैन।

यादव, कुशवाहा र पौडेलको चुनौती राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका पूर्व डीआइजी रमेश खरेलका लागि भने अवसर बनेको छ।

पहाडी समुदायको मत र खरेलको आफ्नै छविको मत उनलाई प्राप्त हुनेछ। कांग्रेस र माओवादीका आफ्नै उम्मेदवार नरहेका कारण ती दलका पनि अधिकांश मत खरेलले प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ।

खरेल आबद्ध दल रास्वपा र त्यसका सभापति रवि लामिछानेको व्यक्तिगत प्रभावको मत खरेलले पाउनेछन्। बारा–२ को चुनावी माहौल र मतदाताको मनोभावना बुझ्दा खरेल आम युवाको मनमा बसेका छन्।

पाका र जनताले पटकपटक पत्याएकाहरूबाट निराश बनेका युवा पिँढीले रुचाएको छवि र यसअघि सरकारी सेवामा रहँदाको इमान्दार प्रयासलाई बारा २ का जनताले सम्मान गर्ने अवसरका रुपमा लिने वातावरण देखिएको छ।

यस पटकको उपनिर्वाचनमा बारा–२ मा मतदाता रहेका कर्मचारीलाई नखटाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको छ। यसपटक करिब ८० हजार मत खस्ने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए। गएको मङ्सिर ४ को निर्वाचनमा १ लाख ५ हजार २९८ मतदाता रहेकामा करिब ६९ हजार मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.