|

काठमाडौँ : सरकारले तीन दिनदेखि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आज रक्षा मन्त्रालयमा वार्ता भएको हो।

दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिएका छन्। छलफलमा माग सम्बोधनका लागि दुबै पक्षबाट वार्ता टोली गठन गरेर भोलिसम्म माग पूरा गर्ने गरी छलफल भएको उनले बताए।

रक्षामन्त्रीसँगको वार्ता जारी हुँदासमेत प्रधानमन्त्री प्रचण्डले दुईपटक फोन गरेर चासो देखाएकाले माग पूरा हुने सम्भावना देखिएको पुनले बताए। यद्यपि भोलि कागजमा सहमति गर्दा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने हेर्न बाँकी रहेको उनको भनाइ छ।

विभिन्न ४ बुँदे माग राखेर शुक्रबारदेखि माइतीघरको सडकमा धर्ना थालेका पुनको माग पूरा गर्न सत्तारुढ दलका नेताहरूले समेत दबाब दिएपछि सरकार बाध्य भएको हो।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा काम गर्न सरकार गम्भीर नभएको भन्दै पुनको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यबद्धता जनाएका छन्।

आज मात्रै पुनको आन्दोलनलाई ऐक्यबद्धता जनाउन माइतीघर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले माग पूरा नगरेसम्म आफ्नो साथ रहने बताएका थिए। पुनको माग व्यक्तिगत नभएको बताउँदै उनले प्रधानमन्त्री स्वयंले माग सम्बोधन गर्न प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्। 

‘पूर्व लडाकुलाई दुई लाख बाँड्न मिल्ने, राष्ट्रपति लगायतलाई स्वास्थ्य उपचारका लागि करोडौँ पैसा बाँड्न सक्ने सरकारले आविष्कारको लागि किन खर्च गर्न सक्दैन’ भनेर प्रश्नसमेत गरे। पुनको आन्दोलनलाई समर्थन गर्न डा. गोविन्द केसी पनि माइतीघर पुगेका छन्।

यसअघि आजै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माइतीघर पुगेका थिए। पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने,  कोष  खडा गर्नुपर्ने,  वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, अनुसन्धानलाई प्रवर्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त नम्बर प्लेट दिनुपर्ने, पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.