|

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा​ हालसम्मकै सबैभन्दा बढी पर्यटक भित्रिएका छन्। यो आवको चैत मसान्तसम्म दुई लाख २१ हजार ५०३ पर्यटक भित्रिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार ७०८ नेपाली, ३९ हजार ४०५ विदेशी, २२ हजार ३९० सार्क राष्ट्रका पर्यटक  छन्। चालू आर्थिक वर्षमा  १९ करोड आठ लाख ४३ हजार ८४४ रुपैयाँ राजस्व संकलन भएको छ। 

आव २०७८/७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका छन्। यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व सङ्कलन भएको छ। 

यसैगरी आव २०७७/७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा  तीन करोड ५० लाख ८३ हजार ३७६ रुपैयाँ राजस्व संकलन भएको छ। आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। सो आवमा  १९ करोड ९२ लाख ५५ हजार ६८१ रुपैयाँ राजस्व संकलन भएको छ। 

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्यांक राख्न थालिएको हो। त्यस वर्ष ८३६ पर्यटक निकुञ्ज घुमेको तथ्यांक छ। यसबाट एक लाख ४० हजार २९८ राजस्व संकलन भएको थियो। दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार २०६ पर्यटक निकुञ्ज छिरेका थिए। यसबाट दुई लाख एक हजार ४२१ राजस्व बुझाएका थिए।

पर्यटकको संख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो। आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा संकलन भएको रु २९ करोड ४४ लाख ६६ हजार ६४० अहिलेसम्मको सबैभन्दा बढी हो। निकुञ्ज प्रवेश गर्ने नेपालीले  १५०, सार्क देशकाले एक हजार र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउँछन्।

तिवारीले भने, ‘पहिले–पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजस्व बढी हुन्थ्यो, अहिले नेपाली पर्यटक बढी हुने भएकाले राजस्व कम पर्यटकको संख्या बढेको छ।’
सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन। 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताइन्। उनले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको जानकारी दिइन्। निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने उनको दाबी छ। 

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधीकरण गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने बताए। अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उनले थप पर्यटक भित्र्याउन व्यवसायीले समेत योजना ल्याउनुपर्ने बताए।
 
चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो। यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत हुन्छन्। यद्यपि अन्यत्रको तुलनामा यो संख्या निकै न्यून हो।
 
हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ। यहाँ आउने पर्यटकको पहिलो रोजाइ जंगल सफारी हुने गर्छ। यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.