|

काठमाडौं :नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै मन्त्री बस्नेतले राजनीतिकर्मी र कर्मचारी सुध्रिए देश बन्ने बताएका छन्। २२ वर्षअघि राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय आएका उनले स्वास्थ्यमा २२ वर्षअघि र अहिलेको जनशक्ति एउटै भएको बताए। ‘२२ वर्ष पहिले र अहिलेको जनशक्ति एउटै छ‚ राम्रो काम गर्न धेरै मान्छे चाहिन्छ भन्ने होइन’‚ उनले भने। 

बिहीबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै उनले अस्पतालहरूको समग्र पक्षको अनुगमन गरी प्रतिवेदन बुझाउन अतिरिक्त सचिवको नेतृत्वमा अनुगमन समिति गठन गरेका हुन्। ‘स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहमा रहेका अस्पताल भइरहेको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोत, औजार उपकरणको अत्यधिक उपभोग भए नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेश गरी अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने,’ मन्त्री बस्नेतले गरेको पहिलो निर्णयमा छ।

उक्त सचिवमा मन्त्रालयका अतिरिक्त सचिव संयोजक रहेका छन् भने योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, उपचारात्मक महाशाखाका निर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक सदस्य रहनेछन्। यसैगरी सदस्यसचिव  डा. गुणनिधि शर्मा छन्।

यस्तै स्वास्थ्य उपचारका नियमित सेवाका साथै समय क्रममा विकसित भई संक्रामक एवं महामारीको रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै संघ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं संघ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने उनको अर्को निर्णय छ।

स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृनिकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य विमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा बस्नेतले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.