|

म्याग्दी : गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले केही व्यक्तिले ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको बताएका छन्। राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरिएको उनको भनाइ छ।

नेकपा माओवादी केन्द्र म्याग्दीको पार्टी कार्यालयमा शनिबार जुग्जालीले केही अनलाइनले प्रकाशन गरेको नक्कली शरणार्थी बनाई अमेरिका पठाउन पैसा लिएको भन्ने समाचार खण्डन गरेका हुन्।

आधिकारिक पुष्ट्याइँ, प्रमाण र तथ्यविना आफ्नो नाम र तस्विर प्रयोग गरी केही अनलाइनले प्रकाशन गरेको समाचार तथा सोही समाचारलाई आधार बनाएर सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्न र विवादमा ल्याउन खोजिएको भन्दै उनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

‘राजनीतिक पूर्वाग्रह, प्रतिशोध साँध्न, भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेषित काल्पनिक सूचनालाई आधार बनाई ‘नक्कली शरणार्थी’ प्रकरणमा मलाई जोडेर प्रकाशित समाचारको खण्डन र आरोप लगाइएको विषयमा संलग्नता नरहेको स्पष्ट पार्छु’, सांसद जुग्जालीले भने।

गलत र तथ्यहीन सूचनालाई आधार मानेर मेरो तस्विर प्रयोग गरेर युट्युब च्यानल र टिकटकमा एकपक्षीय हिसाबले प्रकाशित सञ्चार सामग्री र सोहीलाई आधार मानेर मेरो विषयमा दुष्प्रचार गरिएकोमा घोर आपत्ति जनाउँदै दुष्प्रचार गर्ने र भ्रम फैलाएर चरित्र हत्या गर्न खोज्नेहरूका विरुद्ध प्रेस काउन्सिल र नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरेको बताए।

आरोपको पुष्टि गर्न र प्रमाण सहित उजुरी गर्न चुनौती दिँदै जुग्जालीले सर्वसाधारणको न्यायका लागि लड्ने प्रतिबद्धता जनाए।

‘म्याग्दीवासीले जुन विश्वास र भरोसा गर्नुभएको छ, त्यो जिम्मेवारीबाट कुनै पनि हालतमा दायाँबायाँ गर्ने छैन’, उनले भने, ‘मेरो बलबुद्धिले भ्याएसम्म समृद्ध म्याग्दीको अभियानमा निरन्तर लाग्नेछु। सार्वजनिक व्यक्तिले विभिन्न विषयको सामना गर्नुपर्ने बारेमा म जानकार छु। मविरुद्ध भएका षड्यन्त्रहरूको व्यवहारबाटै जवाफ दिँदै जान्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.