‘समस्या यथावत् राखेर महानगर सुन्दर बन्दैन’

|

काठमाडौं : कुनै पोलमा गुजिल्टिए डल्लो परेका, कुनै टुक्रिएका त कुनै भुईँमा छरपस्ट भएका तार। घरबाट बाहिर निस्कनासाथ सडकमा ठडिएका प्रत्येक बिजुली र टेलिफोनका सबै पोलमा देखिने दृश्य हो यो।

काठमाडौं उपत्यकाका सडक पोलमा टाँगिएका तार अव्यवस्थित हुँदा शहर कुरूप त बनेको छ नै। अर्कातर्फ आगलागी हुँदा अकालमै नागरिकहरूले ज्यान गुमाइरहेका छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार गत वर्षमात्रै अव्यवस्थित तारका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ। 

अव्यवस्थित तारले जोखिम भएको र शहरको सौन्दर्य कुरूप भएको भन्दै यसको व्यवस्थापन गर्ने प्रयास नभएको भने होइन। काठमाडौं महानगरपालिकाले व्यवस्थापन गर्न पटक पटक सूचना जारी गरेको छ।

सम्बन्धित निकायबाट व्यवस्थापनमा हस्तक्षेप गरेको देखिन्छ। तार काटे सेवा अवरुद्ध गर्ने नेपाल टेलिकम, इन्टरनेट तथा टेलिफोन सेवाप्रदायक कम्पनीले चेतावनी दिन्छन्। त्यसपछि महानगरपालिका पछि हट्छ।

महानगरपालिकाले गत ११ गते सडक किनारामा भएका बिजुलीका पोलमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन सार्वजनिक सूचना जारी गर्‍याे।

महानगरले सूचना जारी गरेपछि वैशाख १२ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठायो।

नेपाल टेलिकमबाट प्राप्त पत्रलाई उद्धृत गर्दै मन्त्रालयको पत्रमा भनिएको छ, ‘विभिन्न स्थानीय तहले शहरी सौन्दर्य कायम गराउने भनी दूरसञ्चार सेवा सञ्चालनका लागि सेवा प्रदायक कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध काटिदिने क्रम बढेकाले यो कार्यले टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भई सेवाबाट वञ्चित हुनु परेको अवस्था छ। अन्धाधुन्ध काट्दा ठूलो परिणाममा केवल नेटवर्क विदेशबाट आयात गर्नुपर्ने भई अनावश्यक रूपमा खर्च बढ्नुका साथै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने हुन्छ।’

यो पत्रपछि महानगरपालिका प्रमुख शाहले शुक्रबार सम्बन्धित निकायबाटै तार व्यवस्थापन नगर्न आदेश प्राप्त भएको भन्दै आफ्नै अधिकारभित्र रहेर महानगरपालिकाले तार व्यवस्थापन गर्ने भनी सामाजिक सञ्जालमा पोष्ट गरे।

उनले भनेका छन्, ‘शहरका पोलहरूमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला। त्यसमा हजारौं मिम बनेका छन् र ट्रोल भएका छन्, भौतिक रूपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन्।’

उनले शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि महानगरपालिका क्रियाशील रहेको बताए।

‘आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौं महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ। शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ। यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाईंहरूले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्छौँ’‚ उनले भने। 

उनको यो स्टाटसपछि तरंग उत्पन्न गराएको छ। नागरिकहरूले नगरप्रमुख शाहको कामलाई प्रशंसा गरेका छन् भने नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट तथा टेलिफोन सेवाप्रदायक कम्पनीले यसको विरोध गरेका छन्।

शनिबार नेपाल दूरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै दशकौदेखि टाँगिएका र सेवा प्रवाह भइरहेको तार एकैपटक व्यवस्थापन गर्न कठिनाइ हुने भनी टेलिफोन र इन्टरनेटका तारमा क्षति नपुर्‍याउनु भनेको छ।

‘इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको र यसको पूर्वाधारमा क्षति पुग्न जाँदा बैंक, हवाईसेवा, सरकारबाट नागरिक लक्षित गरी प्रदान गर्दै आएका अनलाइन सर्भिस अवरुद्ध हुन जाने र यसको पूर्वाधारमा क्षति पुर्‍याउने कार्य दूरसञ्चार ऐन, २०५३ अनुसार दण्डनीय समेत हुने हुनाले यसको पूर्वाधारमा क्षति पुग्ने कार्य नगर्न/ नगराउन तथा यसको व्यवस्थापन कार्यमा सेवाप्रदायक र प्राधिकरणबाट भइरहेको कार्यलाई सघाउ पुर्‍याइदिनु हुन हार्दिक अनुरोध गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ।

‘समस्या यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ’

महानगरपालिकाका प्रमुख शाहले समस्यालाई यथावत् राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने भन्दै गुनासो र आक्रोस पोखेका छन्। 

उनले अव्यवस्थित तारलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसके पनि हालसम्म केही सहयोग नमिलेको बताए।

‘त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ। यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसविपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो’, उनले भने। 

प्राधिकरणको दाबी : तार व्यवस्थापनको काम भइरहेको छ

अव्यवस्थित तारले जोखिम निम्त्याइरहँदा यता नेपाल दूरसञ्चार प्राधिकरणले तार व्यवस्थापनको काम भइरहेको दाबी गरेको छ।

प्राधिकरणले दीर्घकालीन रूपमा तार लगायत अन्य युटिलिटीहरूको व्यवस्थापनको लागि सडक निर्माण हुँदा युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भइरहेको जनाएको छ।

यसैगरी प्राधिकरणले विज्ञप्तिमार्फत दूरसञ्चार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न सरकारलाई यस अगाडि नै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुका साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भइरहेको जनाएको छ।

‘अव्यवस्थित रूपमा रहेको तारलाई अल्पकालीनरूमा व्यवस्थापन गर्ने क्रममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरि, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघरलगायत पाटन दरबार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बन्डलिङ गरिएको छ’‚ विज्ञप्तिमा भनिएको छ।

छलफलपछि यसो भन्छ महानगरपालिका

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार आज (आइतबार) महानगरमा तार व्यवस्थापनबारे प्राधिकरणसँग छलफल भएको छ।

‘आज प्राधिकरणसँग छलफल भयो। तार व्यवस्थित गर्न बजेट व्यवस्था, तार अन्डरग्राउण्ड भइरहेको र छिट्टै काम सक्ने भनेका छन्। जे होस् बल्ल उनीहरू जागरुक भएका छन्’‚ उनले भने।

प्राधिकरणको उक्त आश्वासनपछि अब महानगरपालिकाले तार नकाट्ने उनको भनाइ छ। ‘उहाँहरू जागरुक हुनुभएको छ, अब व्यवस्थापन होला भन्ने आशा छ’, उनले भने।

(याे पनि)


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.