|

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसले दुई युवा महामन्त्री पायो। ०७८ मंसिरमा भएको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए।

देउवा समूहका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई पराजित गर्दै शेखर कोइराला समूहका थापा तथा प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएको डेढ वर्षपछि थापाले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए। 

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो,’ थापाले आइतबार साँझ विद्रोहको संकेत दिँदै ट्वीट गरे। 

उनको उक्त ट्वीटलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। महामन्त्री थापाले कसलाई लक्षित गर्दै भनेका हुन भन्ने स्पष्ट छैन। यद्यपि राजनीतिमा दख्खल राख्नेहरूका लागि उनको ट्वीटको अर्थ बुझ्न महाभारत पढिरहनु पर्छ जस्तो लाग्दैन। उनले पार्टीभित्रको बेथिति, मंसिर ४ को निर्वाचन, वैशाख १० को उपनिर्वाचन, मन्त्रिमण्डल विस्तारमा असमान सहभागिता लगायतका विषयमा सांकेतिक रूपमा विरोध गरेका छन्। 

देउवासँग आजित इतरपक्ष

१४ औं महाधिवेशनले शेरबहादुर देउवालाई पार्टी सभापतिमा चयन गर्यो। महाधिवेशन भएको डेढ वर्ष बितिसक्दा पनि देउवाले पार्टीलाई विधान अनुसार चलाउन सकेका छैनन्। न त उनले निर्वाचनमा पार्टीलाई सफल बनाए। सभापति देउवाले ६ महिनाभित्र गरिसक्नु पर्ने विधान अधिवेशनसमेत गर्न सकेका छैनन्।

केन्द्री समिति बैठक नराख्दा केन्द्रीय सदस्यहरू भूमिकाविहीन भएका छन्।

यसबाट कांग्रेसका आशालाग्दा दुई महामन्त्री आजित भइसकेका छन्। उनीहरू वैशाख २२ गतेको पदाधिकारी बैठकमा देउवाविरूद्ध खनिए। पार्टी रूपान्तरणका लागि जुर्मुराइरहेका महामन्त्रीलाई निष्क्रिय पारेपछि उनीहरूले धुम्बाराहीमा बसेको बैठकमा असन्तुष्टि जनाएका हुन्।

उनीहरूले मन्त्री सिफारिस गर्दा आफूहरूसँग छलफल नगरेको, पार्टीलाई विधान अनुसार चलाउन नसकेको, विभाग, भ्रातृ संस्थाहरूलाई नेतृत्व नदिएर शिथिल बनाएको आरोप लगाए। 

पार्टीका दुई वटा १३ र १४ औं महाधिवेशन भए पनि पार्टीले जनताको लोकप्रिय मत नपाएको आरोप देउवामाथि लाग्ने गरेको छ। गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचन, मंसिर ४ गतेको निर्वाचन र वैशाख १० गतेको उपनिर्वाचनमा गठबन्धन गरे पनि सोचेजस्तो परिणाम ल्याउन नसकेको अपजस देउवालाई नै जान्छ।

‘गठबन्धन गरेर चुनाव लडियो त्यहाँ पनि सोचजस्तो नतिजा आएन। विधानको परिपालना भएन। ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षदेखि हुन सकेको छैन। पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा मनोमानी भयो। सभापतिज्यू विधानअनुसार चल्न खोज्नुहुन्न। पार्टीलाई परम्परागत ढंगले चलाउन खोजेको विषयमा महामन्त्रीहरूको असन्तुष्टि छ,’ गगन निकट एक नेताले भने। 

साथै उनीहरूले गठबन्धनको विषयमा समेत सभापति देउवासँग जवाफ मागिरहेका छन्। साथै जनता समाजवादी पार्टीलाई उपनिर्वाचनमा बारा–२ मा छोडेको विषयमा समेत कांग्रेसभित्र चर्को असन्तुष्टि छ। 

‘मंसिर ४ को चुनावमा सँगै गएको गठबन्धन ढल्यो। फेरि बन्यो। किन ढल्यो पुनः किन बन्यो? त्यसको औचित्य पुष्टि गर्नुपर्छ। वैशाख १० को उपनिर्वाचनमा जसपालाई के कारणले सहभागी गराइयो। त्यसको कारण स्पष्ट छैन। किनकी जसपा मंसिर ४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो। सरकार जोगाउन गरिएको भए हामीलाई के अर्थ भयो?,’ महामन्त्रीहरूको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। 

साथै कांग्रेसले आफ्नै गढसमेत गुमाउन पुग्यो। राष्ट्रपति रामचन्द्र पौडेलले जित्दै आएको तनहुँ १ मा यसपटक रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भए। चितवन–२ मा पनि मंसिरमा भन्दा यसपटक कांग्रेसको भोट घटेको छ। 

रास्वपा र पूर्वराजाको डर !

राष्ट्रिय स्वतन्त्र पार्टी गत वर्ष असार ७ गते निर्वाचन आयोगमा दर्ता भयो। त्यसपछि मंसिर ४ गतेको निर्वाचनमा होमिएको रास्वपाले प्रत्यक्ष र समानुपातिक गरेर २० सिट जित्यो। उक्त नतिजाले ठूला भनिएका दलहरूलाई धक्का दियो। यस्तै वैशाख १० को उपनिर्वाचनमा रास्वपाले तनहुँ–१ र चितवन–२ बाट दुई सिट ल्यायो। हाल रास्वपाबाट प्रतिनिधिसभामा २१ सिट छ।

यो पार्टीप्रति जनताको आकर्षण पनि बढिरहेको छ। रास्वपाको उदय र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई कांग्रेसले च्यालेञ्जको रूपमा लिएको छ। कांग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरेले आफूहरू परम्परगत ढंगले हिँडेर नयाँ दलसँग प्रतिस्पर्धा गर्न नसकिने बताए। 

‘देशभरी रास्वपाले च्यालेन्ज दिएको छ। हामी भने परम्परागत अवस्थामा चलेर कहाँ पुग्छौं? परम्परागत कम्युनिष्ट पार्टीसँग मिल्न सकिन्छ तर, नयाँ दलसँग यही अवस्थामा प्रतिस्पर्धा गर्न गाह्रो छ। पूर्वराजा पनि हाम्रा लागि चुनौती छ। उनी देशभरी हिँडिरहेका छन्। उनी विधानसम्मत हिँडे पनि हाम्रा लागि त स्थायी प्रतिपक्ष जस्तो भएको छ,’ उनले भने।  

नेता घिमिरेले पुराना दलप्रति युवाको आकर्षण घटिरहेको बताउँदै दलहरू नसुध्रिए जनताले माफी नदिने बताए। 

‘नयाँ पुस्ता हामीसँग विकर्षित छ। बेरोजगारी, महँगी आकाशिएको छ, जागिरेहरूले तलब नपाउने अवस्थामा छन्। यी सबै विषयमा हामी पनि कारण हौं। यसमा पनि पार्टी नेतृत्व जिम्मेवार छ। भ्रष्ट प्रवृत्तिलाई सुधार गरेनौं भने हाम्रो भविष्य के हुन्छ? यी सबै विषयमा महामन्त्रीहरूलाई तनाव नै छ,’ उनले भने, ‘०४६ पछि बनेका सरकारहरूको हर्कत देखेर जनताले साथ छोडिसकेका थिए। तर, ०६२/०६३ को जनआन्दोलनमा हामी सुध्रिन्छौं भनेपछि जनता सडकमा आएका हुन्। अब पुराना पार्टीले आफ्नो भविष्य सुनिश्चित गर्न माफी माग्नुपर्छ।’ 

देउवाको बचाउमा संस्थापन पक्ष

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको भागमा ८ वटा मन्त्रालय परे। चैत १६ गते बसेको कार्यसम्पादन समितिको बैठकले ८ जना मन्त्री छान्ने जिम्मा देउवालाई दियो। सरकारमा शेखर समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री दिने सहमति भयो। तर, देउवा पक्षका पाँच मन्त्रीले चैत १७ गते शपथ खाँदा शेखर समूहले एउटा पनि नाम दिन सकेन। शेखर र गगन पक्षबीचको द्वन्द्वका कारण मन्त्री पठाउन ढिलाई भयो। तर, आरोप देउवामाथि लाग्यो। 

शेखर कोइराला र महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आफू निकट एक जना समेट्नुपर्ने अडान लिएपछि शेखर समूहभित्रै विवाद उत्पन्न भयो। एक महिनासम्म पनि विवाद नसुल्झिएपछि शेखरले धनराज गुरूङ र डिगबहादुर लिम्बुलाई मन्त्री बनाए। तर, दुई महामन्त्रीले सहमहामन्त्री जीवन परियार, बद्रि पाण्डे र प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने अडान लिए। तर, उनीहरू निकट एक जना पनि परेनन्। 

देउवा निकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा मन्त्री सिफारिसमा शेखर कोइराला हावी भएपछि महामन्त्रीले असन्तुष्टि जनाएको दाबी गर्छन्। उनले दुई महामन्त्रीले सभापतिमा हारेका व्यक्तिको एकाधिकार चलेकाले असन्तुष्टि पोखेको बताए। 

‘उहाँ (गगन थापा) को ट्वीट पार्टीभित्रको असन्तुष्टि तर्फ मात्रै लक्षित छैन। किनकि उहाँले पार्टीभित्रका विषय बैठकमा उठाउने हो। भएको के हो भने– शेरबहादुर देउवाले उहाँहरूलाई मन्त्रीको नाम दिन भन्नुभयो। गुटको नेताको हैसियतले शेखरजीले आफू निकटलाई पठाउनुभयो। तर, शक्तिशाली महामन्त्रीले भनेको कुरा सुनुवाइ नभएपछि सामाजिक सञ्जालमा पोखिएको हो,’ नेता विश्वकर्माले भने। 

उनले संस्थापन पक्षको बचाउ गर्दै भ्रातृ संगठन, विभागहरू बन्ने अवस्थामा रहेकाले भाग खोज्न वार्गेनिङ गरेको आरोप लगाए। 

‘उहाँहरू पर्टीलाई विधान सम्मत चलाउन पर्यो भन्नुहुन्छ। तर, आफैं विधान अनुसार चल्न खोज्नुहुन्न। पार्टीभित्र आफूलाई लाभ हुने विषय आयो भने विधान हेर्नुहुन्न तर, जब आफ्नो भागमा पर्दैन अनि विधि, विधानको विषय उठाउनुहुन्छ,’ नेता विश्वकर्माले भने, ‘पदाधिकारी बैठकमा रमाउनुहुन्छ। असन्तुष्टी भए पदाधिकारी, केन्द्रीय समितिमा उठाउनुपर्यो नि! नत्र सामाजिक सञ्जालमा रूवाबासी गरेर केही अर्थ छैन।’ 

पदाधिकारी बैठकमा सभापति देउवाले गठबन्धनको बैठकमा आफूहरूलाई सहभागिता नगराएको विषयमा महामन्त्रीद्वय थापा र शर्माले असन्तुष्टि जनाएका थिए। 

‘पदाधिकारी बैठकमा उहाँहरूले सरकारमा मन्त्री पठाउँदा समावेशिता ख्याल नगरेको, आफ्ना भागमा परेका तीन मन्त्रालयमध्ये एउटा सिट काटेको, भ्रातृ संस्था र विभागलाई पूर्णता नदिएको, विधान महाधिवेशन गर्न नसकेको र पार्टी रूपान्तरणमा चासो नदिएकोमा असन्तुष्टि जनाउनु भयो,’ गगन निकट एक नेताले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.