|

विराटनगर :  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताएका छन्।विराटनगरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै यादवले २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन हुन सक्ने विषय उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको भनाइ आफूलाई थाहा नभएको बताए। ‘अब तेस्रो चरण भन्ने कुरा कुनै हालतमा हुँदैन,’ यादवले भने, ‘मिति सार्ने कुरा पनि हुन सक्दैन।’

मनलाग्दी निर्वाचनको मिति सारे लोकतान्त्रिक प्रणालीलाई असर गर्ने यादवले बताए। ‘एक पटक होइन, दुई पटक होइन, तीन पटक निर्वाचनको मिति सरिसक्यो,’ यादवले भने, ‘लोकतान्त्रिक पद्धतिमा यसरी निर्वाचनको मिति सारिरहने काहीँ हुन्छ?’

मधेसमा भएको आमहड्तालबारे आफूले पनि सञ्‍चारमाध्यमबाट थाहा पाएको भन्दै यादवले ०७० सालको निर्वाचनमा हड्ताल भए पनि निर्वाचन सफल भएको बताए। ‘०७० सालमा पनि हड्ताल भएको थियो तर निर्वाचन सम्पन्न भयो,’ यादवले भने, ‘यस पटक पनि निर्वाचन हुन्छ, काहीँ रोकिँदैन।’

निर्वाचन आयोगले सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरिसकेको र आवश्यक सुरक्षाको प्रबन्ध पनि गर्ने बताए। ‘अहिलेसम्म कहाँ-काहाँ अवरोध हुन सक्छ भन्नेबारे पहिचान भइसकेको छ,’ यादवले भने, ‘मतदातालाई सुरक्षित हिसाबले मतदानस्थलसम्म जाने र घर फर्किने वातावरण निर्माण हुनेछ।’

सरकारले ऐन संशोधन गरेपछि राष्ट्रिय जनता पार्टी दर्ता गर्न सकिने तर चुनाव चिह्न भने दिन नसकिने उनले बताए। ‘ऐन संशोधनले पार्टी दर्तालाई सहज बनाएको छ, तर चुनाव चिह्न भने नयाँ दिन सकिँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.