|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। केही दिन अगाडि संसद् बैठकमा टिसर्ट र पाइन्ट लगाएको विषयमा आलोचना भएपछि उनले चाकडीबाजबाट टाढिएर पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला भएको टिप्पणी गरिन्। 

‘हरेक सामाजिक परिवर्तनको सुरुवात सत्तामा रहेका शासकहरूले परिवर्तनको मसाल बोक्नेहरूलाई दबाएर सुरु हुन्छ। त्यसपछि व्यक्तिगत आक्रमण र नानाथरी नाम बोलाउने, देखावटी प्रगतिशील उदारवादी शब्दहरू प्रयोग गरेर समाजलाई विचलित गरिन्छ। बच्चा बनेर लेबल लगाएका र टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएका सबैलाई विश्वस्त पार्न चाहान्छु– हामी सही बाटोमा छौँ। चाकडीबाजबाट टाढिएर  पहिरनमा होइन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो। यसको रास्वपा विरोध गर्छ,’ उनले भनिन्। 

सांसद श्रेष्ठले नयाँ पुस्ताले देखिने गरी प्रतिनिधित्व गर्ने भएकाले आफूहरूलाई कसैले पनि रोक्न नसक्ने चेतावनी दिइन्। 

‘सचेत रहनुहोस्। तपाईं हामीलाई रोक्न सक्नुहुन्न। सक्दै त सक्नुहुन्न। जवाफ माग्न छोड्ने छैनौं। नयाँ पुस्ताको देखिने गरी प्रतिनिधित्व गर्न छोड्ने छैनौं,’ उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.