|

काठमाडौं : नौं जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

सुनसरी, ईनरुवा नगरपालिका-४ स्थित सडकमा को.७ प ७५३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६० वर्षीय लिलाकान्त पण्डितको मृत्यु भएको छ। बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पण्डितको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, बुद्धशान्ति गाउँपालिका-४ जोर लावरस्थित सडकमा ना.४ ख १३१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री पाँचथर हिलिहाङ गाउँपालिका-६ घर भई झापा बुद्धशान्ति गाउँपालिका-४ स्थित ठुलीआमाको घरमा बस्ने आशिष तामाङकी छोरी ८ वर्षीया सोमिया तामाङको शनिबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रोल्पा, सुनिलस्मृति गाउँपालिका-२ चतुर्भुज मोडमा लु.८७ प २०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा चालक प्युठान स्वर्गद्वारी नगरपालिका-८ धनचौर बस्ने १६ वर्षीय सागर सापकोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर  घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो।

सिरहा, गोलबजार नगरपालिका-७ स्थित सडकमा स.७ प २६१२ नम्बरको मोटरसाइकल र प्र.२-०१-००३ प ६३२१ नम्बरको स्कुटर एक-आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक नरहा गाउँपालिका-३ बस्ने २४ वर्षीय रन्जित साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनामध्ये २ जनालाई थप उपचारको विराटनगरतर्फ रिफर गरिएको छ भने १ जनाको मिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ।

यसैगरी सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा स.९ प १४६३ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको टिपरमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नगरपालिका-६ बस्ने ३० वर्षीय जनक बिकको मृत्यु भएको छ। उक्त स्थानमा स.९ प १४६३ नम्बरको मोटरसाइकल र बागमती प्र.०६-०१ प.८८२० नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खादा स.९ प १४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई टिपरमा ठक्कर खाई दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बिकको फुलकुमारी महतो मिमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटना घाइते भएका स.९ प १४६३ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ। प्रहरीले बागमती प्र.०६-०१ प.८८२० नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर चालकको खोजी गरिरहेको छ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ कंकालिनी मन्दिर नजिक सडकमा प्र.२-०१-००१प ३०२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री  भारत घर भई हाल सप्तरी हनुमाननगर कंकालिनीस्थित मामा घरमा बस्दै आएकी बिशेश्वर सिंहकी छोरी ९ वर्षीया निकी कुमारी सिंहको मृत्यु भएको छ। बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा बागलुङबाट पोखरातर्फ जाँदै गरेको लु.३ च ५१२ नम्बरको जिपको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ। ठककरबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, गणेशमान चारनाथ गाउँपालिका-३ स्थित भित्री सडकमा वीरेन्द्र बजारबाट जुरीतर्फ जाँदै गरेको ज.६ प ४७९० नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका-७ बस्ने ४० वर्षीय राजकुमार शर्माको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेस्थित सडकमा तिनकुनेचोकबाट मंगलगढी चोकतर्फ जाँदै गरेको क.प्र. ०२००१ ज.०५७३ नम्बरको जिपमा क.प्र.०२००१ प ७८७४ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुम्ला ताजाकोट गाउँपालिका-१ घर भई सुर्खेत वीरेन्द्नगर नगरपालिका-१२ पिपिरा डेरा गरी बस्ने ३५ वर्षीय अकबिर खड्काको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया नर्सिङ होम सुर्खेत हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, चन्द्रनगर गाउँपालिका-७ स्थित शिवशक्ति इँटा उद्योगमा को.१ त ४७०४ नम्बरको ट्याक्टरमा इँटा लोड गरी  अगाडि बढाउने क्रममा ट्याक्टरको चक्काले किच्चिएर सोही उद्योगमा काम गर्ने भारत घर भएका ३० वर्षीय श्याम बर्माको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.