ललितपुर : गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिसर शनिबार दिउँसै झलझलाकार देखियो। माटाका पालामा सजाइएका एक करोड बत्ति एकै पटक बल्दा मन्दिर नजिकको न्यौपानेगाउँ, पारीगाउँ र झ्यालुन्टार चम्किएको थियो।
आकाशमा कालो बादल मडारिँदा मन्दिर वरपरका स्थानमा चमक थियो। विश्व शान्ति र पितृ मोक्षका लागि जीवनेश्वर महादेव मन्दिर करोड बत्ति समितिको आयोजनामा भएको सो अनुष्ठानलाई हेर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।
दिउँसो साढे १२ बजे महासंकल्प गरेपछि दिउँसो १ बजे करोड बत्ति बालिएको हो। ब्रम्हा‚ विष्णु‚ महेश्वरको पूजा गरेपछि बत्ति संकल्प गरिएको थियो। बत्ति बालिसकेपछि भागवतको तिल चढाईएको थियो। करोड बत्तिको हवन आइतबार बिहानै गरिएको थियो।
‘नौलो र फरक प्रवृत्तिको बत्ति प्रज्वलन भएको हुँदा करिब ७ हजारको संख्यामा भक्तजन उपस्थित भए’, समितिकी कोषाध्यक्ष शारदादेवी न्यौपानेले भनिन् र बत्ति चलाउन र बत्ति बालेको हेर्न उपत्यकाका धेरै स्थानबाट भक्तजनहरु आस्थाका साथ आए।
कोषाध्यक्ष शारदा न्यौपानेका अनुसार करिब २८ लाख नगद उठेको छ। यो धार्मिक अनुष्ठानमा उठेको रकम र खर्चबारे केही दिनमा अन्तिम जानकारी गराउने तयारी गरेको समितिकी अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन्।
‘भगवानको कृपाले करोड बत्ति बालेको स्थानमा पुगियो, भक्तपुर बालकोटका दीपक ढुङ्गेलले भने‚ ‘म मेरी श्रीमतीसहित कस्तो हुँदो रहेछ त यो बत्ति बालेको भनेर हेर्न यहाँ सम्म आयौं। मलाई यो बत्ति प्रत्यक्ष रुपमा आफैंले चलाउन पाउँदा धेरै खुसी लागेको छ।’
न्यौपाने गाउँका रमेश न्यौपाने पनि आफ्नै गाउँमा करोड बत्ति बलेको देख्दा अत्यन्त हर्षित भए। ‘भगवान का अनुकम्पाले आज जीवनेश्वर महादेव पुगी करोड बत्ति प्रज्वलनको दर्शन गर्न सकियो,’ उनले भने।
२ वर्ष अगाडिदेखि भक्तजनले दान दिएको बत्ति बाल्दा धेरै जनामा खुसीको सीमा रहेन। मूलडोलका भरत दुलाल आफूले दान दिएको सवा लाख बत्ति करोड बत्तिमा मिसिएर बल्न पाएकोमा खुसी छन्।
उनी मात्र होइन कृष्णकुमार केसी, नारायणी चालिसेलगायतका बत्ति दानकर्ताको मुहारमा चमक छ।झ्यालुन्टारका रोहित नेपाली जीवनेश्वरमा बालिएको करोड बत्तिले समाजमा सद्भाव फैलाएको बताउँछन्। श्रीमदभागवत् सप्ताहकै क्रममा करोड बत्ति बालिएको समितिका उपाध्यक्ष यादवराज चालिसेले जानकारी दिए।
कठिन भए पनि करोड बत्ति बाल्न बालेर गोदावरी नगरपालिकासहित जिल्लामै नमुना प्रस्तुत गरेको वडा सदस्य सुजता रिजालले बताईन्।
वडा नम्बर १० का अध्यक्ष शेखर न्यौपानेले धार्मिक क्रियाकलापका लागि यो करोड बत्ति अनुष्ठानपछि मन्दिर पुनर्निर्माणका लागि छुट्टै प्रयास थालेको बताए। उनले भने, ‘धार्मिक पर्यटकीयस्थल निर्माणका लागि हामी जुटेका छौं।’ पूर्ववडाध्यक्ष दर्शन विष्ट यसले मन्दिरको विकासका लागि टेवा पुर्याएको दाबी गर्छन्।
करोड बत्ति बाल्ने संकल्प लिएर बासुदेव लुईटेल र माधव चालिसे करिब २ बर्ष अघिदेखि बत्ति र नगद सहयोगका लागि खटेका थिए। बत्ति बाल्न वरपरका मूलडोल, झ्यालुन्टार, बोहोराटार, विष्टगाउँ, डाँडागाउँ, टाहाखेल, पारीगाउँ, प्याङगाउँ, चापागाउँ, सल्यान, लेले, डुकुछाप, गोदामचौरलगायतका अन्य स्थानबाट अत्यधिक भक्तजनको सहभागिता रहेको प्रचार कमिटी संयोजक नवीन लुईटेलले जानकारी दिए।
गत जेठ ६ गते शनिबार नगर परिक्रमासहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको हो। जीवनेश्वरमा भएको धार्मिक अनुष्ठान यो गाउँकै पहिलो सार्वजनिक धार्मिक कार्यक्रम हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।