|
फाइल तस्वीर

भक्तपुर : यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो। आगलागीबाट २ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भयो।

तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए। आगलागीस्थलबाट नजिकैको वारुणयन्त्रमा रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौं र ललितपुरबाट दमकल ल्याएर आगो नियन्त्रण गरियो।

यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो निभाउन भने चारवटै दमकल प्रयोग गरिएका थिए। यसपटक भने इन्धन अभावको कारण देखाउँदै थप दमकल प्रयोग गरिएन।

आपत्कालीन अवस्थामा चारवटै दमकल यसअघि प्रयोग हुँदै आएकामा कार्यालय प्रमुख लोकबहादुर कार्कीले पुरानो एउटा दमकलको कागजपत्र नभएको र अर्को दमकल मर्मत एवम् इन्धन खर्च नभएको भन्दै थन्क्याएपछि आगलागी नियन्त्रणमा समस्या आएको कर्मचारीको गुनासो छ।

सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाले मर्मत खर्च, इन्धन खर्च र अन्य खर्चसमेत बेहोर्ने गरी हस्तान्तरण गरेका दुई दमकल मात्रै सञ्चालनमा छन्।

कार्यालय प्रमुखले सबै दमकल आपत्कालीन अवस्थामा जान सक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेमा पुराना दुई दमकल खर्च अभाव देखाउँदै थन्क्याउँदा आगो निभाउन समस्या भएको कर्मचारी बताउँछन्।

यसअघि सरकारबाट प्राप्त मर्मत र इन्धन खर्च तथा अन्य खर्चबाटै सेवा प्रवाह गर्दै आएको दमकल अहिले इन्धन अभाव एवम् मर्मतका लागि बजेट अभाव भन्दै थन्क्याउन नहुने कर्मचारीको भनाइ छ। आगलागी र अन्य विपदमा प्रयोग हुँदै आएको रेस्क्यू भ्यानसमेत कार्यालय प्रमुखले प्रयोग नगर्दा जोखिम बढेको कर्मचारीको गुनासो छ।

कार्यालय प्रमुख कार्की भने चुनदेवीको आगलागीमा आवश्यक नठानेर दमकल प्रयोग नगरिएको बताउँछन्। मन्त्रालयले इन्धन र मर्मतका लागि आवश्यक बजेट नपठाउँदा इन्धन अभाव भएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.