|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दुई देशबीच उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको खुलासा गरेका छन्।

मंगलवार काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पदमार्ग शुभारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए। उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए।

उनले भने, ‘हेलिकप्टर को चढेन ? ठूला व्यापारी धनाढ्य घरानाकाले त उडाउने नै भयो। ७० वटा जति देशबाट त निमन्त्रणा आयो। भ्रमण जान्न भन्दिएँ। म हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने। त्यसैले यसपालि भारत पनि गइनँ। खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्थ्यो नि त तर आफ्नो भूमिका केही हुँदैन भने किन जाने ?’

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनै पनि जिल्लाको विकास कम हुनु नहुने बताए। उनले ओखलढुंगाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुरोध गरे पनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाए।

उनले भने, ‘के बजेट हाल्न आफ्नो जिल्लाको मन्त्री मात्रै हुनुपर्ने ? रुकुमको एयरपोर्टको चर्चा भयो, रुम्जटार र खिजिदम्बाको एयरपोर्टको चर्चा चलेन। पर्यटनमन्त्रीले अर्थमन्त्रीले दिएन भन्ने, अर्थमन्त्रीले पयर्टनमन्त्रीले प्रश्ताव गरेन भन्ने ? मन्त्रीको जुहारीले कुनै पनि विकास कम हुन हुँदैन।’

त्यस्तै पूर्वसांसद एवं नेकपा एमालेका नेता यज्ञराज सुनुवारले ओखलढुंगाको चण्डेश्वरीमा निर्माणाधीन दोमोस एयरपोर्टलाई स्तरोन्नति गरी जहाज चल्ने गरी बजेट छुट्याइदिन पर्यटनमन्त्री किराँतीसँग आग्रह गरे। उनले देश र जिल्लाको विकासका लागि एक भएर काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘देश र जिल्लाको विकासका लागि एक भएर काम गरौँ।’

कार्यक्रममा खिजिदेम्बो थोलेदेम्बा क्षेत्र समेटिने निम्न पर्यटकीय पथ मार्ग शुभारम्भ भएको हो।

पोकली झरना १३० मिटर हुँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान गौरीवन, दोबाटे भञ्ज्याङ, थोलेदेम्बा ३३५० मिटरसम्म (३ दिन) को पदमार्ग र उक्त स्थान हुँदै पिके, दुधकुण्ड मिहालबाट सगरमाथाको आधारशिविरसम्मको नयाँ पदमार्गको शुभारम्भ भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.