|
फाइल तस्वीर

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि बृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताएका हुन्।

उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए। उनले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताए।

उनले भने‚ ‘धेरै देशहरुले जब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरुले बृहत आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन्। सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजि क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय, लगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ। त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऔँ। त्यो एमाले अथवा कांग्रेसको अवधारणा हुँदैन। त्यो मुलुकको अवधारणा हुन्छ। त्यो अवधारणा बोकेर जाऔँ। म अर्थमन्त्रीजीलाई यो हिम्मत गर्नुस् र आजको दिनमा प्याराडाइम सिफ्ट नगरी हुँदैन। चलनचल्तीको हिसाबले जाने हो भने अर्को वर्ष जेठ १५ गते फेरि एउटा विलौनापूर्ण वक्तव्य सुन्नुबाहेक अर्को कुनै विकल्प छैन।’

सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीहरुको २५ प्रतिशतले तलब, भत्ता कटौती गर्ने प्रस्ताव पनि गरे। 

उनले भने‚ ‘म प्रश्ताव गर्न चाहन्छु राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशसभा, उपसचिवभन्दा माथिका कर्मचारीहरु, राजनीतिक नियुक्तिमा भएका मानिसहरु ती सबैको आउँदो वर्ष २५ प्रतिशतले तलब, भत्ता कटौती गर्ने घोषणा गर्नुस्। हामी प्रतिपक्षको हिसाबले तपाईंलाई समर्थन गर्छौं। त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौं भन्नुस्। खर्च कटौती यसरी हुन्छ।’

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरुलाई निश्चित नगरेको उनको भनाई छ। बजेटले आजका चरम आर्थिक संकटहरुलाई अनुभूतिसमेत नगरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.