|

काठमाडौं : नेकपा एमालेमा ७० वर्षे उमेरहदको प्रावधानलाई निलम्बन गरिएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीसहित अन्य पार्टीबाट आउने गर्ने ७० वर्षे कटेका नेताहरूको व्यवस्थापनका लागि हालका लागि यो उमेरहदलाई निलम्बन गर्नुपरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन। 

शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले ७० वर्षे उमेरहदको प्रावधान हटाउन गरेको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाए। माधव कुमार नेपालले एमाले छोडेपछि ओलीको नेतृत्वमा एकढिक्का रहेकोले सचिवालय बैठकमा पनि सबैले सहमति जनाए।

नेकपा एस त्यागेर एमालेमा आएका मुकुन्द न्यौपानेसहितका नेताहरूको व्यवस्थाका लागि विधानको उक्त व्यवस्थालाई निलम्बन गरिएको एमाले नेताहरू बताउँछन्। 

वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेको सिफारिसमा जेठ १९ को सचिवालय बैठकले अनुमोदन गरेको हो। एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दै ७० वर्षे प्रावधान हटाएको उल्लेख गरिएको छ। 

अपानिमा भनिएको छ, ‘पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद हाललाई निलम्बन गर्ने।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा वैज्ञानिक परम्परा सुरू गर्न ७० वर्षे उमेरहदको व्यवस्था गरिएको स्वीकार गर्दै अन्य पार्टीबाट आउने नेताहरूको व्यवस्थापनका लागि उमेरहदको विषय निलम्बन गरिएको बताए। 

‘पार्टीमा एउटा वैज्ञानिक परम्परा सुरू गर्न ७० वर्षे उमेरहद राखिएको थियो। अस्वस्थ प्रतिस्पर्धा नहोस् भनेर उमेरहदको व्यवस्था गरिएको हो। पार्टीमा नयाँ साथीहरूलाई स्वागत गर्न, व्यवस्थापन गर्नका लागि उमेरहदलाई निलम्बन गरिएको हो,’ उनले भने, ‘यो अहिलेको संकट टार्नको लागि मात्रै ल्याइएको हो। लामो अध्ययनपछि नयाँ युवालाई अवसर दिनुपर्छ भनेर ल्याइएको हो । पार्टीमा उमेर पुगेकाका साथीहरूको पनि योगदान हुन्छ।’ 

कसलाई फाइदा? 

७० वर्षे उमेरहदले नेकपा एमाले अध्यक्ष ओलीसहित दोस्रो तहका नेताहरूलाई फाइदा पुग्ने भएको छ। ७० वर्षे उमेर हद रहिरहे ०८३ मा हुने ११ औं महाधिवेशनमा एमालेका हालका पदाधिकारी तहका प्राय: सबै नेताहरू सक्रिय राजनीतिबाट रिटायर्ड हुने छन्।

यद्यपि हालको उमेरहद निलम्बनको विषयले महाधिवेशन सम्म नै निरन्तरता पाउने निश्चित छ। विधान संशोधनका लागि महाधिवेशन नै कुर्नुपर्ने भएकाले हाललाई निलम्बनमार्फत सुरूवात गरिएको एमालेका एक पदाधिकारीले जानकारी दिए। 

‘७० वर्षे उमेरहद लगाउने हो भने कोही पनि पदाधिकारी बाँकी रहनुहुन्न। उहाँहरूको राजनीतिक जीवन ७० वर्षसम्म मात्रै हो त? त्यसकारण हामीले हाललाई विधानको दफा ६४ निलम्बन गरेर आगामी महाधिवेशनमा संशोधनका लागि प्रस्ताव लैजान्छौं,’ ती पदाधिकारीले थाहाखबरसँग भने। 

एमाले उपमहासचिव ज्ञवाली पार्टीमा उमेरहदका कारण पनि योग्यता क्षमता भएका व्यक्ति रहेकाले उमेरहद तत्काललाई निलम्बन गरिएको बताए। 

‘मानवीय कुरा हो। ७० वर्षे उमेर पुगेकै कारण उसको क्षमतामा ह्रास आइहाल्दैन। ७० वर्षमा बिदा गर्दा सबै जान्छ भन्ने होइन तर, केहीका हकमा उमेरहद बाधक बन्ने देखिन्छ,’ ज्ञवालीले थाहाखबरसँग भने। 

७० वर्षे उमेरहद राख्दा स्वयं अध्यक्ष केपी शर्मा ओलीले पनि नेतृत्वमा निरन्तरता पाउन सक्दैनन्। वि.सं २००८ फागुन ११ गते जन्मिएका ओली अहिले ७२ लागे। 

यस्तै २०१० माघ २२ गते जन्मिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ७० वर्ष लागेका छन्। अर्का उपाध्यक्ष सुवास नेम्वाङ पनि ७१ वर्ष लागिसके। उनी वि. सं २००९ फागुन २८ मा जन्मिएका हुन्। 

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य ७०, युवराज ज्ञवाली ७०, रामबहादुर थापा बादल ६८, सुरेन्द्र पाण्डे ६५ र विष्णु पौडेल ६४ वर्ष पुगे।  यता महासचिव शंकर पोखरेल ६१, उपमहासचिवहरू पृथ्वीसुब्बा गुरूङ ६६, प्रदीप ज्ञवाली ६१ र विष्णु रिमाल ६१ वर्ष पुगेका छन्। 

यसरी हेर्दा पदाधिकारी तहमा रहेका ७० वर्ष पूरा भएका नेताहरू सबैलाई लाभ हुने देखिन्छ। एमालेले यसअघि पनि ओलीलाई दोहोर्याउन उमेरहदको विषय हेरफेर गरिसकेको छ। 

७० वर्षे उमेरहद हटेसँगै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई पनि फाइदा पुग्ने देखिएको छ।

०७८ भदौमा एमाले छाडेका गौतम पुनः एमालेमा फर्किने मनस्थितिमा छन्। यसअघि उनी ७० वर्षे उमेरहदका कारण एमालेमा फर्किएका थिएनन्। उनले अध्यक्ष ओलीसँगको भेटमा ७० वर्षे प्रावधान हटाउन माग गर्दै आएका थिए। गौतम निकट एक नेताले एमालेबाट सकारात्मक अफर आए उनी एमालेमा फर्किने मनस्थितिमा रहेका छन्। 

‘हामीले ७० वर्षे उमेर हटाउन माग गरिरहेका थियौं। ढिलै भए पनि कार्यान्वयन भएको छ। अब उता(एमाले)बाट प्रस्ताव आए स्वीकार गर्नुको विकल्प छैन। वामदेव कमरेडको रोजाइ पनि यही हो,’ ती नेताले भने। 

अध्यक्ष ओली पनि वामदेवलाई एमालेमा स्वागत गर्न तयार छन्। बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले वामदेवको पार्टी सदस्यता एमालेमा रहेको बताए। 

वामदेवले पनि आफ्नो पार्टी सदस्यता एमालेमै रहेको भन्दै अब नवीकरण गर्ने पनि बताए। 

 ‘म आफू त जाने कुरा भएन। मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती तुलसा थापा पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उनले  भने,‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहाँ योगदान दिन तयार छु।’

जसले पहल गरे

एमालेमा एउटै व्यक्ति र पुरानै पुस्ताले पटक-पटक अवसर पाउन थालेपछि युवा नेताहरूले ७० वर्षे प्रावधान राख्न अभियान चलाए। नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, प्रकाश ज्वाला, ठाकुर गैरे, विजय पौडेल, अरूण नेपाललगायतले सातौं महाधिवेशनमा पार्टीमा उनीहरूले त्यस्तो प्रस्ताव ल्याए पनि कार्यान्वयन हुन सकेन।​

किनकि त्यसबेला सहाना प्रधानलगायतका नेताहरू छुट्ने सम्भावना थियो। तर, ०६५ मा भएको पार्टीको ८ औं महाधिवेशनबाट कार्यान्वयनमा आयो। त्यसबेला थुप्रै नेताहरू बिदा हुनुपर्यो। भरतमोहन अधिकारीसहितका नेताहरू ७० वर्षे उमेरहदका कारण बिदा भए।  

यस्तै नवौँ महाधिवेशनले ७० वर्षे प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्यो‍। ०७१ मा भएको उक्त महाधिवेशनले पदाधिकारी वा सदस्यमा निर्वाचित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गर्यो। 

विधानको दफा ६४ मा भनिएको छ, ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ। तर ७० वर्ष पुरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुग्ने छैन।’

निलम्बन गरिएको उमेर हद सम्बन्धी व्यवस्था हटाउन ११ औं महाधिवेशनमा पेश गर्ने तयारी गरिएको छ। यद्यपि यो विषय धेरै परको कुरा रहेको एमाले नेताहरू बताउँछन्। 

एमाले नेता ठाकुरप्रसाद गैरे ७० वर्षे प्रावधान अन्य पार्टीबाट आएका नेताहरूको व्यवस्थापनका लागि मात्रै भएको दाबी गर्छन्। आफूहरूको पहलले यो प्रावधान लागू भएकाले यसलाई निरन्तरता दिनुको विकल्प नरहेको उनी बताउँछन्। 

‘यो (६४) दफालाई निलम्बन गरिएको पार्टीभित्र प्रवेशका क्रममा नेताहरूलाई जिम्मेवारी प्रदान गर्न निलम्बन गरिएको भनिएको छ। तत्कालको समस्या हल गर्ने, अन्य नेताहरूको जिम्मेवारी प्रदान गर्नका लागि गरिएको हो,’ उनले भने, ‘यो धारालाई निलम्बन गर्दा सचिवालयमा रहेका साथीहरूबीच कसरी व्याख्या भएको छ जानकारी पाइसकेको छैन। यसलाई अन्य दलबाट आएका नेताहरूको व्यवस्थापनका लागि मात्रै निलम्बन गरिएको भनेर बुझ्नुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.