|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने बताएका छन्।​

बुधवार अष्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने बताए।

उनले आधारबिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए। उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरूसँग बुझ्ने पनि बताए।

उनले भने, ‘बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ। नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ। त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ। प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो। त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो कि होइन, पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर सबै कुरा गर्नेछु।’

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको र अष्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीसँग भेट गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.