|

विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलले पहिचान पक्षधरले आफ्ना सभामुख र उपनेतालाई गरेको  दुर्व्यवहारप्रति निन्दा गरेको छ।

आफ्ना  दलका उपनेता राम राना मगर र कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुर्व्यवहार हुनु निन्दात्मक काम भएको दलका तर्फबाट एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रतिक्रिया दिएका छन्।

सरकारले वार्ता समिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुर्व्यवहारप्रति घोर निन्दा रहेको उनले  बताए।

उनले भने, ‘यति गम्भीर घटना हुँदा पनि संघीय सरकार चुप लागेर बस्नु आश्चर्यजनक छ।’

भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी समेत दिए।

‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं। अन्यथा यस्तो गतिविधि दोहोरिरहे चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं’‚ उनले भने।

पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राना मगरलाई इलाममा आज मोबिल छर्केका थिए। इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमण गरेका थिए।​

यसैगरी उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुर्व्यवहार गरेका छन्।

सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधबार मात्रै वार्ता समिति गठन गरेको थियो। प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिलाई औपचारिक पत्र नआएको  संघर्ष समितिका संयोजक डकेन्द्रमान सिंह थेगिमले जानकारी दिएका छन्।

उनले भने, ‘संघर्ष समितिलाई आधिकारिक पत्र आएको छैन। मैदानमा थुप्रै पहिचानवादी आन्दोलित छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.