|

विराटनगर : कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले आफ्नै घर जाँदा असुरक्षित भएको बताएकी छिन्।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) महिला पत्रकारहरूका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले यस्तो बताएकी हुन्। 

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचान पक्षधर कोशी प्रदेश खारेजीको माग राख्दै सडक आन्दोलनमा छन्। आन्दोलनरत पक्षले बिहिबार उदयपुरको गाईघाटमा उपसभामुख दनुवारलाई  दुर्व्यवहार गरेको थियो।

सर्पदंश उपचार केन्द्रलाई सहयोगका लागि सम्बन्धित मन्त्रीसँग उदयपुर पुग्ने क्रममा आफूमाथि पहिचान पक्षधरले दुर्व्यवहार गरेको बताउँदै सभामुख दनुवारले भेन्टिलेटर हस्तान्तरण गरिसकेपछि आफ्नो घर जाँदा आफू माथि आक्रमण भएको बताइन्।

आफू सवार गाडीको चालकले  जीवन बचाएको जानकारी दिँदै  उनले भनिन्, ‘मेरो जीवन बचाउने म सवार गाडीको चालकलाई धन्यवाद दिन चाहन्छु,गाडी भाग्न सफल नहुँदो हो त क्षति हुन्थ्यो।’

पहिचानवादीको नाममा अराजक भएको बताउँदै उनले  दुर्व्यवहार भएको र  गाडीमा रहेको झण्डा भाँचेर हिँडेको बताइन्।  उनले आफू सुरक्षित भएर भाग्न सफल भएको  बताउँदै  आफ्नो माग राख्दै गर्दा अर्काको अधिकार हनन् गर्नु नहुने समेत बताइन्।

जनताको प्रतिनिधि जनता माझ जान नसक्दा जनतालाई पुर्‍याउन सक्ने कुराहरूबाट जनता नै बन्चित भएको उनले बताइन्। उनले भनिन्, ‘यसले जनतालाई अन्याय गरेको छ।’

कोशी प्रदेश सरकारले वार्ताको टोली  गठन गरिएको बताउँदै उनले वार्तामा आउने आव्हान समेत गरेकी छिन्। ‘प्रदेश सरकारले वार्ताको टोली गठन गरिएको छ, वार्तामा आउन आव्हान गर्दछु,’ उनले भनिन्,’आफ्नै घर जाँदा असुरक्षित भएको छ। ’

उनले  आन्दोलनकारीलाई संवेदनशील हुन समेत  अनुरोध गरेकी छिन्। उनले अर्को प्रसंगमा महिला सबै क्षेत्रमा अब्बल हुनुपर्नेमा समेत जोड दिएकी छिन्। महिलाहरू प्रमुखमा आउन सबै सक्षम र अब्बल हुनु जरुरी रहेको बताउदै उनले महिला सबै क्षेत्रमा अब्बल हुनुपर्नेमा जोड दिइन्।

यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे  पत्रकारिता पेसा जोखिमको पेसा रहेको बताए। उनले यो जे पेसालाई इमान्दारिताका साथ गर्नु पर्नेमा जोड दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.