|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा नेपाल बनाइएको दाबी गरेकी छन्।

बुधवार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले जनगुनासोलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्न समाजवादी मोर्चा बनाइएको बताइन्।  

उनले सत्ता टिकाउनका लागि मात्रै मोर्चा नबनाएको बताइन्। यद्यपि मोर्चाले सरकार सञ्चालनमा सहयोग पुग्ने उनको अपेक्षा छ। उनले देशमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्न दलहरू एक ठाउँमा उभिएर अघि बढ्दा सहज हुने भएकाले मोर्चा बनेको बताइन्। उनले मोर्चामा आबद्ध दलहरू सडक, सदन र सरकारमा एक भएर अघि बढ्ने उल्लेख गरिन्।

उनले भनिन्‚ ‘यसले समान लक्ष्य लिएका मान्छेहरू एक ठाउँमै आएर एउटा पार्टी निर्माण गर्ने उद्देश्यका साथ अघि बढे भने यो देशलाई रूपान्तरण प्रमुख भूमिका निर्वाह गर्छ। नागरिकता, मल बीउको समस्यालाई सम्बोधन गर्न सकिन्छ। सडक, सदन या सरकारमा होस् एकीकृत भएर जानुपर्छ भन्ने उद्देश्यले समाजवादी मोर्चा निर्माण भएको हो।’

सांसद शर्माले नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकीकरण गरेर माओवादी केन्द्रको महासचिव बनाउने भनेर नफकाइएको बताइन्। उनले विप्लव विगतमा माओवादी आन्दोलनकै नेतृत्व भएको भन्दै एकीकरण भएको खण्डमा पार्टीले जुनसुकै जिम्मेवारी दिनसक्ने बताइन्।

सांसद शर्माले कोशी प्रदेशलाई प्रदेश सरकारको दुई तिहाइले नाम पारित गरेको भन्दै कसैले सो नाम लिन आनाकानी गर्न नहुने बताइन्। उनले नामकरणका वेला कसैले हस्तक्षेप नगरेको र प्रदेशसभाले पास गरेको उल्लेख गर्दै यसमा अप्ठेरो मान्नु नहुने स्पष्ट पारिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.