|

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केवल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकी छन्।

मदन भण्डारी फाउन्डेशनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज (बिहीबार) आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर नै ती सम्भावनाको खोजी गर्दै जानुपर्नेमा जोड दिइन्। 

उनले जनताको जीवनमा सम्पूर्णरूपले परिवर्तन ल्याउने ‘समृद्ध नेपाल सुखी नेपाली’को जुन परिकल्पना जनताको बहुदलीय जनवादले गर्दछ, त्यो दायित्व पूरा नभएको पनि स्पष्ट गरिन्।

आफ्नो छोटो जीवनकालमा जननेता मदन भण्डारीले नेपाल राष्ट्र र नेपाली समाजका लागि गरेका योगदानहरू उच्च र अविस्मरणीय भएको उल्लेख गर्दै उनले लोकतन्त्रको स्थापना र सुदृढीकरणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका जननेता भण्डारी २०४६ सालको सफल जनआन्दोलनको सूत्राधारमध्ये एक रहेको बताइन्।

‘आन्दोलनको सफलतापश्चात् जनताको अधिकतम हितका निम्ति रूपान्तरणकारी संविधानको निर्माण, कार्यान्वयन र बलियो नेपाली राष्ट्रियताका पक्षमा उहाँले खेल्नुभएको भूमिकाले हामीलाई सदैव मार्गदर्शन गरिरहेका छन्,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त हो। नेपालको माटोमा जन्मेको, नेपाली जनताको काखमा हुर्केको र यही विकास तथा परिष्कार भएको विचारका रूपमा हामीले जनताको बहुदलीय जनवादलाई लिनु पर्दछ। यो कुनै एउटा राजनीतिक दलको मात्र विचार होइन, नेपाली माटोको सुवास आउने मौलिक सिद्धान्त हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.