|

रौतहट : रौतहटको ग्रामीण क्षेत्रका चोक चोकमा धमाधम दर्ता नै नगरी अवैध रुपमा औषधी पसल खुल्ने क्रम बढ्न थालेको छ। 

धेरैजसो क्षेत्रमा अनधिकृत रुपमा क्लिनिक तथा औषधी पसल सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला बजार अनुगमन समिति र स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधी पसल खुल्ने क्रम नरोकिएको हो। 

जिल्लामा कतिवटा दर्ता नगरेका यस्ता औषधि पसल छन् यसको तथ्याङ्क कसैसँग छैन। यसरी खोलिएका निजी क्लिनिक तथा औषधी पसलबाट उपभोक्ता ठगिनुका साथै ज्यानसमेत जाने गरेको छ। 

कतिपय औषधी पसलेले विभिन्न अस्पतालका चिकित्सकको नाम झुण्ड्याएर आफैंले स्वास्थ्य जाँच गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको गरुडाका स्थानीयवासी रामसिंह पटेलले बताए। 

उनका अनुसार ग्रामीण क्षेत्रका उपभोक्ताले रोग बताएको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपयले सामान्य अनुभवकै भरमा निजी क्लिनिक खोल्ने गरेका छन्। 

गरुडा नगरपालिका वडा नं–९ स्थित गमहरियामा सञ्चालित ओम क्लिनिकमा उपचारको क्रममा २ वर्षीय बालक सचिन पटेलको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका वडा नं–४ घर भएका शिवशंकर पटेलका छोरा सचिनलाई उच्च ज्वरो आएपछि परिवारले ओम क्लिनिकमा लगेका थिए। 

क्लिनिक सञ्चालक गणेश सहनीले बालकलाई सुई लगाएका थिए। एकछिनमा ठिक हुन्छ भनेर सहनीले भने पनि बालकको स्वास्थ्य अवस्था झन् बिग्रिएसँगै परिवारले उनलाई अनामिका अस्पताल लगेका थिए। 

अनामिकामा पुग्नासाथ त्यहाँका चिकित्सकले बालकलाई मृत घोषणा गरे। ओम क्लिनिकका सञ्चालकले सुई लगाएका कारण बालकको मृत्यु भएको परिवारको आरोप छ। 

स्थानीय स्तरमा डाक्टर भनेर चिनिएका गणेश एमबिबिएस उत्तीर्ण भएका चिकित्सक होइनन्। उनले कस्तो सुई लगाएका हुन् भन्नेबारे प्रहरीले चिकित्सकको सहयोगमा अनुसन्धान गरिरहेको छ। 

सहनीले आफ्नै घरमा क्लिनिक सञ्चालन गरेका छन्। नियमानुसार औषधी पसल राख्न कम्तीमा तीनवर्षे फार्मेसी तहको अध्ययन उत्तीर्ण गर्नुपर्ने हुन्छ। 

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालका अनुसार अनुसन्धानका लागि क्लिनिक सञ्चालक गणेश सहनीलाई पक्राउ गरिएको छ। डिएसपी खनालले भने, ‘बालकको शव पोष्टमार्टमा गर्न प्रादेशिक अस्पतालमा पठाएका छौं, आवश्यक अनुसन्धान भइरहेको छ।’

यता जिल्लाभित्रका धेरैजसो औषधी पसलहरु सिएमए पढेकाहरुले सञ्चालन गर्दै आएका छन्। उनीहरुले आफैं बिरामीको जाँच गर्ने र आफैं औषधी दिने गर्छन्।

सहनीजस्तै जिल्लामा धेरै औपचारिक रुपमा मेडिकल अध्ययन नगरेका चिकित्सक भनाउनेले औषधी पसल खोलेर बिरामीको उपचारसमेत गर्दै आएका छन्।

अवैध रुपमा खोलिएका औषधी पसल तथा क्लिनिक सरोकारवालाले अनुगमन गरी तत्काल बन्द गर्नुपर्ने सर्वसाधारणको माग छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.