|

काठमाडौँ : शीर्ष तीन दलका नेताहरूबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ।

मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरूबीचको छलफलमा संसदीय समितिको नेतृत्व यथाशीघ्र चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए।

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए। उनले संसदीय समितिका सभापति चयन गर्न तीन दलका नेताहरू गम्भीर भएको बताए।

उनले भने, ‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशील र स्तरीय बनाउने भन्नेबारेमा छलफल भयो। त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरूको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थिति तुरुन्त अन्त्य गर्नुपर्छ। मूलतः संसदीय गतिविधि प्रभावकारी पार्न छलफल भयो। उहाँहरू गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा यथाशीघ्र समितिको सभापति चयन गर्ने सहमति भएको बताए। उनले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरी समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए।

मन्त्री गुरुङले भने, ‘शीर्ष नेताहरूको बैठक बस्यो, मुख्य गरेर संसदीय समितिहरूको नेतृत्व जुन खाली भएर बसेको छ, त्यसमा यथाशीघ्र समितिको सभापति चयन गर्ने सहमति भएको छ। राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरी समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भयो।’

मन्त्री गुरुङले बैठकमा कोशी प्रदेशको नेतृत्वको बारेमा पनि छलफल भएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.