|

बेनी : म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको बचत रकम हिनामिना गरेको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

बेनीस्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ।

बेनीको न्यूरोडस्थित सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ। सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले बचत गरेको रकम डुब्ने जोखिम बढेपछि प्रहरीमा उजुरी दिएका थिए।

बचतकर्ताहरूले सहकारी ऐन सम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएकोमा सहकारी विभागको अनुसन्धान सम्बन्धी सिफारिसपत्र समेत संलग्न गरी केन्द्रीय अनुसन्धान ब्युरोबाट भएको परिपत्र बमोजिम असार १७ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए।

उनका अनुसार कार्यालयमा अन्य बचतकर्ताको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया जारी छ। मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउद्देश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो।

सुरुवातमा बचतकर्ता लाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले पाँच महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर सहकारीले आर्थिक कारोवार बन्द गरेको थियो।

त्यसपछि सहकारी नै बन्द गरेर कर्मचारी र सञ्चालक सम्पर्कविहीन भएका हुन्। सहकारी बन्द भएपछि बचतकर्ता पैसा डुब्ने चिन्तामा छन्। एक वर्षअघि न्यूरोडमा करिब ६ करोड रुपैयाँमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो।

सहकारीले आकर्षक ब्याजको लोभ देखाएर बचतकर्ताबाट निक्षेप संकलन गरेको थियो। बचतकर्ता शेयर सदस्यको करिब साढे ६ करोड रुपैयाँ सहकारीमा निक्षेप रहेको अनुमान गरिएको छ।

पैसा फिर्ता लिन सहकारीमा आएका निक्षेपकर्ता निरास हुँदै फर्किन बाध्य भएका छन्। निक्षेप फिर्ता नगरेको भन्दै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारीविरुद्ध उजुरी परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.