|

सर्लाही : सर्लाहीको उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन्।

कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन्।

असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। रोपाइँमा लागिपरेका सर्लाहीका किसान आकाशे वर्षा रोकिँदा चिन्तित छन्।

केही दिनदेखि सामान्य वर्षा भइरहँदा धमाधम धान रोप्न थालेका किसान पानी पर्न रोकिएपछि निरास बनेका हुन्। जिल्लामा केही दिनदेखि पानी पर्न रोकिएको छ। बिहानैदेखि चर्को घाम लागेर गर्मी छ। यो वर्ष भल बग्ने गरी ठूलो पानी पर्नै सकेको छैन।

३-४ दिन स्यार्रसुर्र परेको पानीमा यहाँका धेरैजसो ठाउँमा रोपाइँ सुरु भएको छ तर पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा रोपाइँ नै रोकिएको किसानले बताएका छन्।

जेठको खडेरीले कतिपय किसानले ढिलो गरी धानको ब्याड राखेकाले पूरा फाँटमा रोपाइँ भएको छैन। नहर तथा कुलोको पानी लाग्ने र पम्पसेट चल्ने ठाउँमा रोपाइँ भइरहेको छ। कामदारको अभावमा रोपाइँ प्रभावित भइरहेको किसानले बताए। सर्लाहीको किसानको मुख्य बाली धान हो। जिल्लाका २० वटै पालिकामा धान खेती हुने गरेको छ।

यसअघि जिल्लामा ६५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र मलंगवाले जनाएको छ। यो वर्ष समयमा पानी नपर्दा किसानलाई छटपटीले पिरोलेको छ। वर्षाले साथ नदिँदा किसानले महँगीको डिजेल खर्चेर पम्पसेट चलाएर रोपाइ गरेका छन्।

यो वर्ष बागमती सिँचाइ आयोजनाले वेलैमा नहरमा नछाड्दा नहरको पानी लाग्ने ठाउँका किसानले पनि निकै हैरानी खेपेका छन्। केन्द्रका अनुसार सर्लाहीमा ४६ हजार ६८० हेक्टर जमिनमा धान खेती हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.