|

म्याग्दी : पदयात्रााका लागि विश्वप्रसिद्ध अन्नपूर्णको प्रमुख गन्तव्य स्थल घोडेपानीमा लालीगुराँस उद्यान (पार्क) निर्माण भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्बुजा पुन(सुशील) ले बताए।

अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस जंगलको प्रकृतिसँग रमाउने वातावरण सिर्जना गर्नका लागि पार्क निर्माण गरिएको उनको भनाइ छ।

लालीगुराँस जंगलबीचको समथर भागमा रहेको कालीसारमा अघिल्लो वर्ष साइकलिङ सडक निर्माण गरिएको थियो भने यो वर्ष बर्ड वाचिङ, हर्स राईडिङ पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको अध्यक्ष पुनले जानकारी दिए।

चालू आर्थिक वर्षमा डिभिजन वन कार्यालयबाट विनियोजित २० लाख बजेटबाट लालीगुराँस पार्कको पूर्वाधार निर्माण गरिएको छ। ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको उनको भनाइ छ।  

पार्कभित्र ढुंगा बिछ्याएर पदमार्ग बनाइएको छ। पार्कबाट गुराँसको जंगलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ। पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ।

बिहानी पुनहिलको भ्रमण गरेका पर्यटक दिउँसोमा गुराँस पार्क हँदै प्यारीबराह ताल पुगेर मनोरम दृश्यावलोकन गरेर पुन घोडेपानी फर्किन सक्छन्। घोडेपानी क्षेत्रमा राप्पु, सेप्पु र चिमाला लगायतका ८ प्रजातिका लालीगुराँस पाइन्छ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटलको सुविधा विस्तार, सडकको पहुँच, पदमार्ग, लालीगुराँस जंगलमा आराम तथा रमाउने पुर्वाधार निर्माण गरिएको घोरेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.