|

काठमाडौं​: भुटानी राजबन्दी रिहाका लागि अन्तरराष्ट्रिय अभियानले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई बयान फेर्न दबाब आइरहेको दाबी गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका रिजाललाई पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलले बयान फेर्न दबाब दिइरहेको अभियानले बताएको छ। अभियानका संयोजक राम कार्कीले आज (बिहीबार) विज्ञप्ति निकालेर अर्का अभियुक्त इन्द्रजित राईबाटसमेत असुरक्षा रहेको उल्लेख गरेका छन्।

शरणार्थी नेता रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रुपमा राईको नाम दिएका थिए। थुनामा रिजाललाई राईसँगै राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको संयोजक कार्कीले उल्लेख गरेका छन्।

थुनामा रहेका रिजालले राम्रो ओढ्ने ओछ्याउनेसमेत नपाउँदा अस्वस्थ बनेको कार्कीको भनाई छ। कारागार प्रशासनसँग पटक पटक राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा समेत बेवास्ता गरेको कारण रिजाल चिसोका कारण बारम्बार अस्वस्थ भएका अभियानले बताएको छ।

अभियानले रिजाललाई नक्कली भुटानी शरणार्थी घोटालामा दोषी बनाएर गलत रुपमा आरोप लगाएको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ।

भुटानी मानवअधिकारकर्मीसमेत रहेका रिजाललाई रिहा नगर्दासम्म उनले अदालती बयानमा नाम लिएका बन्दीहरुबाट बेग्लै र चिसो नभएको छुट्टै कोठामा राख्नसमेत अभियानले माग गरेको छ।

त्यस्तै, रिजाललाई कोठामा न्यानो राख्न पर्याप्त सुत्ने सामग्री उपलब्ध गराउन माग राखेको अभियानले अपरिचित व्यक्तिले रिजाललाई भेट्न खोजे रिजालसँग परामर्श लिएर मात्रै अनुमति दिनुपर्ने, रिजालको नाजुक स्वास्थ्य र वृद्धावस्थाका कारण आवधिक रुपमा चिकित्सा जाँचहरु प्रदान गर्न र जेलमा उचित सुरक्षासमेत प्रदान गर्न माग राखेको छ।

राष्ट्रिय र अन्तरराष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरुलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्ने व्यवस्था मिलाउन पनि अभियानले अनुरोध गरेको छ।

यसैबीच, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका थप एक जना पक्राउ परेका छन्। ठगीमा संलग्न रही फरार रहेका केशव तुलाधर पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिका-३० असनका तुलाधरलाई प्रहरीले बुधबार सानोभर्‍याङबाट नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरी परिसर टेकुमा पठाएको छ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १८ जनालाई नियन्त्रणमा लिइसकेको छ।

तीमध्ये २ जना धरौटीमा छुटिसकेका छन् भने १६ जना केन्द्रीय कारागारमा थुनामा छन्। यस प्रकरणमा अझै कम्तीमा ९ जना फरारको सूचीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.