|

काठमाडौं : चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसी विरुद्धको श्रव्यदृश्य सामग्री नेपालका सबै सिनेमा हलमा देखाइने भएको छ।

बोर्डले बिहीबार देशभरका सिनेमा हल संचालकहरुको छाता सङ्गठन नेपाल चलचित्र सङ्घलाई औपचारिक पत्र पठाएर सबै सिनेमा हलमा यस्ता सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देशन दिएको छ।

बोर्डले आव ०७९/८० को बजेटबाट निर्माण गरेको श्रव्यदृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ। बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ। 

यो सामग्रीमा प्रियंका कार्की, रुवी श्रेष्ठ, डिक्की गुरुङलगायत कलाकारले अभिनय गरेका छन् भने सुयोग गुरुङले निर्देशन गरेका छन्।

यो सामग्रीमा चलचित्र र चलचित्रजन्य वस्तु जानीबुझी वा अज्ञानतावश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। 

यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसीसम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ।

बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकमा पाइरेसीसम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गरे। उनले वर्तमानमा डरलाग्दो स्थितिमा रहेको पाइरेसी समस्या समाधानको लागि बोर्डले जनचेतना जगाउने विभिन्न कार्यक्रमसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाका लागि पनि काम गरिरहेको बताए।

केसीले नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्द्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको बताए।

यो सामग्री सिनेमा हलमा फिल्म सुरु हुने समयमा प्रदर्शन गर्ने र अन्य सार्वजनिक स्थलहरुमा समेत निरन्तर प्रदर्शन गर्ने तयारी गरेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.