|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार अन्त्यका लागि आफूहरूलाई सम्झिन सरकारलाई आग्रह गरेका छन्। 

शनिबार रास्वपा बूढानीलकण्ठको नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारविरूद्ध निर्मम बन्न आग्रह गर्दै सहयोग चाहिए आफूहरूलाई सम्झिन आग्रह गरेका हुन्।

‘कुनै त्यस्तो मुद्दा छैन जसमा नेपाली जनताका लागि आवश्यक भएको होस् र रास्वपाले त्यसमा साथ नदिएको होस्। हामी जनताको मुद्दामा निस्वार्थ सहभागी छौं। सरकारलाई सहयोग चाहिए हामीलाई भने हुन्छ। सरकारले जनताको मुद्दा उठाउँछ भने हामी तयार छौं’ उनले भने। 

सभापति लामिछानेले भ्रष्टाचारको फाइल चलाउने काम मात्रै नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले सानालाई तर्साएर भ्रष्टाचारमा संलग्न ठूला माछालाई जोगाउने प्रयत्न नगर्न सरकारलाई सचेत गराएका हुन्। 

‘सरकारले भ्रष्टाचारका फाइल खोल्ने काम गरेको छ। फाइल चलाउनु र खोल्नु अलग कुरा हो। चलाएको मात्र हो भने खबरदार, खोलेको हो भने स्याबास! हामी पनि छौं। एकएकलाई समाउनु। कसैलाई नछोड्नु। सानातिनालाई समाएर तर्साउने काम नहोस्। कोतपर्वजस्तो नहोस्। एकले अर्काको फाइल खोलाखोल गर्ने,’ उनले भने, ‘फाइल खोल्नु भनेको सरकार टिकाउने, सत्ता टिकाउने खेल मात्रै नबनोस्। साँच्चै नै  यो देशमा भ्रष्टाचारी सबैलाई सक्ने र हरेक कालखण्डमा भएका मुद्दाहरूलाई समाप्त गर्ने काम भएको भए हामी साथ दिन्छौं भनेका छौं।’

सभापति लामिछानेले भ्रष्टाचार अन्त्यका लागि दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन्। 

‘सरकारले दह्रो खुट्टा टेकोस्। प्रधानमन्त्री र गृहमन्त्रीको खुट्टा दह्रो होस्। भ्रष्टाचारको अन्त्य गर्न साथ चाहिएमा रास्वपा त्यही छेउमा बसेको छ। एक पटक बोलाए मात्र पुग्छ। प्रतिपक्षका बेञ्चमा बसेर भए पनि सरकारको पक्षमा उभिन्छौं,’ उनले भने। 

सभापति लामिछानेले सरकार अस्थिर नहोस् भन्ने हेक्का रास्वपाले राखेको बताउँदै । सरकारभित्र रहेर जनताको विषयमा नबोल्ने र जनताविरोधी भनेर ट्याग लगाइदिने काम कदापी स्वीकार्य नहुने चेतावनी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.