|
फाइल

पर्वत : कृषि क्षेत्रमा भित्रिएको यान्त्रिकीकरण र चौपायामा आउने रोगका कारण जिल्लामा गाई र गोरुको संख्यामा एक वर्षको अवधिमा नै करिब एक हजारले कमी आएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा २९ हजार २५ वटा गाई/गोरु रहेकोमा आर्थिक वर्ष ०७९/०८० मा नौ सय ९० ले घटेर २८ हजार ३५ कायम भएको छ। परम्परागत खेती प्रणालीमा गोरुले खेतबारी जोत्ने गरेको भए पनि पछिल्लो समयमा कृषिका सरोकारवाला निकाय र स्थानीय तहहरूले पनि आधुनिक हलो अर्थात् ‘मिनी टिलर’ बाँड्दै आइरहेका छन्।

गोरुले खेतबारी जोत्दा लामो समय लाग्ने र त्यसले समयको बरबादी गर्ने तथा कृषकलाई बढी दुःख हुने भएकाले कृषकहरू पनि ‘मिनी टिलर’ मा आकर्षित हुँदै गइरहेका छन्। यसैको प्रभाव स्वरूप हरेक वर्ष गाई/गोरु पाल्ने कृषक र गाई÷गोरुको संख्यामा कमी आउँदै जाने सम्भावना देखिएको छ।

कार्यालय प्रमुख रामजी पौडेलले अन्य चौपाया तथा पंक्षीको पालनमा अघिल्लो पछिल्ला दुई आर्थिक वर्षमा खासै भिन्नता नरहेको भए पनि गाई/गोरु र बङ्गुर पालनमा कमी आएको बताए। बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगले पालनमा कमी आएकाले रोग नियन्त्रणमा आएपछि आगामी वर्षहरूमा फेरि संख्या बढ्ने छ। तर गाई/गोरुलाई पनि यान्त्रिक उपकरणहरूले विस्थापन गर्दै लगेकाले संख्या घट्दै जाने देखिएको उनको भनाइ छ।

‘दूध बेच्नका लागि गाई पालिएको भए पनि गोरु उत्पादनका लागि स्थानीय जातका गाईहरू पाल्ने क्रम घट्दै गइरहेको छ। स्थानीय जातका गाईले कम दूध दिने भएकाले व्यावसायिक कृषकहरूले उन्नत जातका गाई पाल्नुभएको छ। ती गाईबाट जन्मिएका बाच्छा जोत्नमा प्रयोग हुँदैनन्,’ कार्यालय प्रमुख पौडेलले भने, ‘बसाइँसराईका कारण गाउँका बस्तीहरू पातलिँदै गएका छन्। गाउँमा बसेर जसले कृषि पेसा धानिरहेका छन् उनीहरूले पनि आधुनिक उपकरणहरूको प्रयोग गरिरहेका छन्।’

भैँसीको संख्या करिब ३३ हजार रहेकोमा यही संख्या नै कायम छ। बाख्रा पालनमा भने कृषकहरूको रुचि बढ्दै गएको देखिएको छ। स्याहार गरेर पाल्दा स्थानीय जातकै बोकालाई पनि २०/२२ हजार रुपैयाँमा बेच्न सक्ने करिब चार÷पाँच महिनाकै अवधिमा त्यो मूल्य पाउने भएपछि कृषकहरू यसमा आकर्षित भएको अनुमान गर्न सकिन्छ।  तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा ४७ हजार बढी बाख्रा पालिएकोमा आर्थिक वर्ष २०७९/०८० मा दुई हजारले बढेर ४९ हजार भन्दा बढी पुगेको छ। ‘अफ्रिकन स्वाइन फिभर’ को संक्रमणले सुँगुर तथा बङ्गुर मरेपछि करिब तीन हजार सुँगुर÷बङ्गुर घटेका छन्। भेडा, कुखुरा र हाँसको संख्या दुवै आर्थिक वर्षमा बराबर रहेको छ।

यान्त्रिकीकरणले गाई र गोरुको संख्या घट्दै गएको बेलामा ‘लम्पी स्किन’ रोगले पनि संख्या घटाउन सहयोग गरेको देखिएको छ। ‘लम्पी स्किन’ चौपायामा लाग्ने भए पनि पर्वतमा भने गाई र गोरु नै बढी प्रभावित भएका छन्। एउटै भकारामा रहेका भैँसीमा संक्रमण नभइ त्यही गोठमा पालिएका गाई र गोरुमा संक्रमण हुँदा कृषकहरू यो रोगबाट हैरान बनेका छन्। यो कारणले पनि आगामी वर्ष गाई÷गोरुको संख्या घट्न सक्ने देखिएको छ।

करिब एक हप्ता अगाडिसम्म अद्यावधिक विवरण अनुसार जिल्लामा ‘लम्पी स्किन’ कै कारण ७० वटा गाई÷गोरु मरेका छन् भने एक हजार चार सय ३२ संक्रमित भएका छन्। यसको रोकथामको लागि हालसम्म करिब चार हजार गाई/गोरुलाई खोप लगाईएको छ। जिल्लाका सात वटै स्थानीय तहमा फैलिएको यो रोगले गाई÷गोरुमा थप क्षति भएमा वा अहिलेसम्मको क्षतिका कारण पनि गोरु पाल्ने कृषकहरू ‘मिनी टिलर’ मा आकर्षित हुन सक्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.