|

पर्वत : नाटक ‘करेसा कन्सर्ट’ साउन छ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ।

यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो। नाटक पोखरा थिएटरको गन्धर्व नाटक घरमा शनिबार दिउँसो एक बजे मञ्चन हुने छ।

पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा हाम्रो करेसाबारीमा हुने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ। जुन बालबालिकाका लागि बढी रुचिकर हुन सक्छ।

नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमाया बनेर अन्जु दाहाल, गोलभेँडा बनेर रोशनी रामदाम, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काँकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले दर्शकको ध्यान खिच्ने छन्। जसको लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसाबारी निर्माण गरिएको छ। स्टेज कलरफूल देखिँदा थिएटर प्रवेश गर्ने बित्तिकै बालबालिकाको ध्यान आकर्षित गर्ने छ।

केदार श्रेष्ठले लेखेको नाटक अन्जु दाहालको  निर्देशनमा तयार भएको हो। नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए। नाटकका निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्त्वपूर्ण बन्ने बताइन्।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र आम नाटक प्रेमीको लागि समेत उत्तिकै महत्त्वपूर्ण रहेकोले पब्लिक सो को रूपमा मञ्चन गर्न लागिएको बताए।

एक घण्टा १० मिनेट अवधिको नाटकको अर्को महत्त्वपूर्ण पाटो सङ्गीत पनि रहेको छ। सङ्गीत संयोजक कमल केसीले गरेको मेहनत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.