|

काठमाडौं : खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा दायर भएसँगै खतिवडा निलम्बनमा परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।  

आयोगले आर्थिक वर्ष २०७५र७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो।

सीडीओ खतिवडा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत थिए। खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि चार लाख ७७ हजार आठ सय ९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ।

त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालित कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो।

अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.