|

विराटनगर : संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा प्रणालीमा सुधार ल्याउन कार्यदल बनाएको बताएका छन्।

मोरङको बेलबारीमा मंगलबार लोहन्द्रा खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा उनले यस्तो  बताएका हुन्।

 मन्त्री मोदीले कर्मचारी सरुवा प्रणालीमा सुधार ल्याउन बनाइएको  कार्यदलको सुझाव लागू गर्न आफूले निर्देशन दिएको बताए।

सरुवा भइसकेपछि पनि ८० प्रतिशतले पावर लगाएर काठमाडौंमै बस्ने प्रवृत्ति कर्मचारीको रहेको बताउँदै उनले त्यसलाई रोक्न र व्यवस्थित गर्न कार्यदल गठन गरेको र उक्त कार्यदलले दिएको प्रतिवेदन लागू गर्न आफूले निर्देशन दिएको बताए।

 मोदीले भने, ‘जहाँ कामको चाप छ त्यहाँ कर्मचारी अभाव हुने। कहीँ काम नै नपाउने र बसिराख्ने अवस्थालाई सुधार्नुपर्छ भनेर पनि लागेको छु।’

उनले अबको एक महिनाभित्रमै संघीय निजामती ऐन संसदमा पेश हुने दावीसमेत गरे। उनले संघीय निजामती ऐन ल्याउन दिनरात नभनी लागि परेको बताउँदै मन्त्री भएको ३ महिनामा विधेयकको ड्राफ्ट अर्थ र कानून मन्त्रालयमा पुगेको बताए।

‘उहाँहरुले स्वीकृत गर्नुभयो भने यही महिनामा संसदमा टेबल हुँदैछ,’ मोदीले भने, ‘संघीयता मजबुत बनाउन म लागिरहेको छु। सार्वजनिक ठाउँमा भाषण गरेर, जनतालाई मनोवैज्ञानिक हिसाबमा डाइभर्ट गरेर, जनतालाई वितृष्णामा लगेर संघीयता स्थापित हुँदैन। जनतालाई निराशातिर लानु हुँदैन। संघीयतालाई कार्यान्वयन गर्नका लागि लाग्नुपर्छ।’

उनले आफूले प्रशासनिक संघीयतालाई बलियो बनाउने गरी उक्त ऐनको ड्राफ्ट निर्माण गरेको दाबी गरे।

वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार काण्ड, सुन काण्ड लगायतका विषय छानबिन गरेर जनतामा आशा जगाउने कोशिस गरेको बताउँदै मोदीले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर नै सरकार लागिरहेको दाबी गरे। आफ्नो नेतृत्वमा रहेको मन्त्रालय पनि त्यसैमा केन्द्रित भएको उनको भनाइ छ।

स्थानीय तहमा भइरहेको निमित्तको समस्या समाधानमा पनि आफू लागिरहेको उनले बताए।

‘स्थानीय तहमा निमित्तको समस्या छ। त्यसलाई अन्त्य गर्ने प्रयास गरिरहेका छौं। बढुवा भएका उपसचिव, बढुवा भएका अधिकृतहरुलाई अनिवार्य स्थानीय तहमा पठाउने नियम लगाएको छु,’ मोदीले भने, ‘रमाना नदिएको खण्डमा, सरुवा भएका छन् वर्षौं त्यहाँ बसेका छन्। रमाना नदिएको खण्डमा हाकिमबाटै असुलउपर गर्ने भनेर चिठी पठाएका छौं। प्रशासन सुधारका लागि केही गर्न खोजिरहेका छौं।’

मोदीले आफ्नो पहलमा आफूले जितेको मोरङ क्षेत्र नम्बर ४ भित्रै पर्ने मोतिपुरको पुल निर्माण गरेको, गिधनीयाको पुल सम्पन्न हुन लागेको, पुष्पलाल चोक–विराटचोक सडक ४ लेनको बनेको, नयाँ बजारदेखि बेलबारीसम्मको सडक निर्माण सुरु भएको, भाउन्ने-आमतोलाको बाटो निर्माणमा पनि आफूले पहल गरेर कालोपत्रे भएको दाबी गरे। उनले धनपालगढीको संरक्षण गरेको पनि दाबी गरे।

सोही कार्यक्रममा प्रदेश सांसद प्रकाश चौधरीले भने वित्तीय संघीयता र प्रशासनिक संघीयता अझै कार्यान्वयन नभएको बताए। उनले प्रदेशलाई अहिलेकै जस्तो प्यारालाइसिस गरिरहने हो भने खारेज गर्दा हुने भन्दै मोदीको ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.