|

सर्लाही : अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिविरुद्ध आज (सोमबार) सर्लाही सदरमुकाम मलंगवामा पनि विरोध प्रदर्शन भएको छ।

नेपाल मगर संघ जिल्ला समिति सर्लाही र नेपाल तामाङ घेदुङ जिल्ला समिति सर्लाहीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा हुने गरेको विवाहको सँस्कृतिप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय देशैभर आन्दोलित बनेका छन्।

सिंगो मगर र तामाङलगायत आदिवासी जनजाति समुदायको पुस्तौँदेखिको अभ्यास र चालचलनमाथि गलत ढंगले व्याख्या गर्नुका साथै भ्रामक र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै पाण्डेलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित बनेका हुन्।

देशव्यापी आन्दोलनको कार्यक्रमअन्तर्गत सर्लाहीका मगर र तामाङ समुदायले सदरमुकाम मलंगवाको शहीद चोक परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत ३ सुत्रीय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

ज्ञापनपत्रमा अधिवक्ता पाण्डेलाई कानुनबमोजिम हदैसम्म सजायको माग गरिएको छ। ज्ञापनपत्र बुझाएपछि आन्दोलित समुदायले कोणसभासमेत गरे।

कोणसभालाई सम्बोधन गर्दै नेपाल मगर संघ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष पूर्ण राना मगरले अधिवक्ता पाण्डेलाई पक्राउ गरी कारबाही नगरिए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.