|

काठमाडौं : वरिष्ठ लोकदोहरी गायक भगवान् भण्डारी गीत लेख्दा गीतको भावमा धेरैबेर डुब्छन्। चरण सम्बद्ध गीत शब्दशिल्पीको कारणले लोकप्रिय छन्।

लामो समयदेखि अमेरिका बसोबास गर्ने भण्डारी विदेशमै रहे पनि गीत संगीतमा सक्रिय छन्। २४ वर्षअघि बनाएको ‘खैरेनीमा गेट’ पछिका सबै गीतहरू लोकप्रिय छन्। उनीसँगको कुराकानीको सम्पादित अंश :

स्वास्थ्य कस्तो छ?

घाँटीको उपचारमा डाक्टरसँग परामर्शमा छु। आमालाई पनि घाँटीको समस्या थियो, मलाई पनि पहिलेदेखिकै हो। यो हाम्रो जेनेटिक समस्या होला।

अरूलाई दुर्लभ अमेरिका तपाईंलाइ पानी पँधेरो भो हैन?

नेपाल–अमेरिका आउजाउ गर्न अप्ठेरो छैन तर समय मिल्दो रहेनछ। श्रोता–दर्शकको माया हो। विदेशीहरूले समेत पत्याउनेसम्म बनाइदिनु भो। चार वर्षपछि आएको छु, मन भए पनि आइहाल्न सकिँदो रहेनछ। जन्मघरसम्म पुगेर फर्किन्छु।

अमेरिकामा पनि गीतसंगीतको काम हुन्छ?

इन्टरनेटले सजिलो पारेको छ। केही काम उता हुन्छ, केही यता। राजु लामाको राम्रो स्टुडियो छ, उहीँ रेकर्डिङको काम हुन्छ। राम्रै हुन्छ उता पनि।

खैरेनीमा गेटअझै सुनिरहेका छन्। धेरै कमायो रे?

त्यो मेरो जीवनको ‘टर्निङ पोइण्ट’ हो, मलाई स्थापित गराइदियो। ‘मायालुले सम्झिनै छाड्यौ कि, आजभोलि लाग्दैन बाडुल्की, खैरेनीमा गेट, अन्तै दिल बस्यो कि निरमाया हुनै छाड्यो भेट’ सामान्य प्रेमको सम्वादलाई गीत बनाएको थिएँ मन पराइदिनु भयो। 

देशमा समस्या बढेपछि पीर पर्छ र प्रतिक्रिया जनाउछौँ। बाहिर जान परेको पनि राजनीतिक अकर्मण्यताको कारणले हो। राम्रो भएको भए कोही पनि नेपाली विदेशमा जानुपर्ने थिएन। देशको माया लागेर राजनीतिक विषयमा प्रतिक्रिया दिन्छु कहिलेकाहीँ। तर, किन गाली गर्छस् धेरै नखोक् भनेर भन्छन्। स्वदेशभन्दा विदेश गएपछि देशको माया धेरै लाग्दो रहेछ।

रेकर्ड गरेको २४ वर्ष, बजारमा गएको २३ वर्ष भयो। १६-१७ लाख कमायो, अहिले हिसाब गर्दा धेरै हुन्छ। त्यो बेलाको पैसालाई १०० ले गुणान गर्दा बराबर नै होला। अहिलेको मूल्यमा १६-१७ करोड होला।

तपाईंलाई लोकदोहरीको हिमनदी भन्छन् शब्दले र स्वरले पनि। जुन गीत छोयो लोकप्रिय बन्ने?

बिग्रेका पनि छन् नि, बिग्रेको नचलेको थाहा नभको। जेनेटिक समस्याले स्वर पनि बिग्रँदै गएको छ। गीत चलेको सबैलाई थाहा भयो, जम्मै चल्दो रहेछ जस्तो लागेको हो। तर पनि चल्दै नचलेको चाहिँ छैन।

राम्रो विषय र शब्दको लहर चाहिँ कसरी आएको?

मैले राम्रो लेख्ने भन्ने छैन तर लेख्दा मेहनत भने अवश्‍य गरेको हुन्छु। लोकदोहरी गीत गफ गरेको जस्तै हो, कुराकानी लेख्ने हो। भर्खरै तीजको गीत लेखेको छु ‘लाउँदिन फरिया छैन बरै सितारा’ मेरो श्रीमती निर्मला भण्डारीले गायकी छिन्।

तीजको गीत महिलाले मात्र गाउने बनाएको छु। गीत भनेको हाम्रै जीवनशैली हो,  हामीले भोगेकै कुरा हो।

तपाईंका गीतहरू कति भए?

धेरै छैनन्, एकसय जति रेकर्ड भएका छन्। मैले गाएका ५० वटा जति होलान्। गाउनेभन्दा लेख्ने धेरै भयो। मेरा गीतहरू लोकप्रीय कलाकारहरूले गाउनुभएको छ। तर मैले गीत लेखेर दिएबापत कसैसँग पनि पारिश्रमिक लिएको छैन। सबैले रुचाइदिनुभयो मलाइ सन्तोक छ।

कस्ताकस्ता लेख्नुभयो / गाउनुभयो?

घरगाँउका विषयमा, प्रेमका लोकदोहरी गीतहरू लेखेको छु, गाएको छु। लोकतन्त्र प्राप्तिकै बेला ‘लोकतन्त्रको कोपीला लायो हुर्काउनु छ मल पानी हालेर, हुनसक्छ षड्यन्त्र फेरि उठौँ सबै मसालै बालेर’ लेखें। ‘जाऊ बाबु नभन्नु आमा, जान्नँ म साहुको मेलामा’ जस्ता गीतहरू पनि लेखेको छु। लाहुरेका, भरियाका, मजदुर श्रमिकका गीतहरू तीजका, दशैँका, गीतहरू पनि लेखेको छु।

खाडी मुलुकमा रोजगारीका लागि जानुभयो भन्ने सुनिन्थ्यो?

सुरुमा गाएको ‘कोठी गालैमा’ त्यति चलेन। ब्याचलर पास गरेको थिएँ, खर्चको अभाव भयो। गीत गाउन निकाल्न पैसा नै चाहिने, सेल्सम्यानको काम गर्न दुबई गएँ। दुबई जाँदा ‘खैरेनीमा गेट’ बजारमा गएको ७-८ दिन भएको थियो। तीन महिनामै लाखौँ क्यासेट गएछ। हिसाब गर्दा उता कमाएको भन्दा खैरेनीमा गेटले कमाएको पैसा धेरै भयो अनि तीन महिनामै फर्किएर आए। ‘खैरेनीमा गेट’ नचलेको भए सायद म आजको अवस्थामा हुने थिइनँ। त्यो गीत मेरो सफलताको प्रमुख आधार हो।

पहिले दुःख अहिले सुखका लागि विदेशमा-अमेरिका जानुभयो?

छोराछोरीको जिम्मेवारीले पुगेको हुँ, अमेरिकामा सुख छैन। दुःख गरेको छु, तर अमेरिकामा सुरक्षा  छ। भेदभाव छैन, धनी र गरिबको बीचमा कुनै फरक छैन।

सबैले शिक्षा, स्वास्थ्य उपचार निःशुल्क पाँउछन्। मेहनत अनुसारको आम्दानी हुन्छ, श्रम गर्नेको इज्जत छ। छोराछोरीले जागिर गर्न थालेपछि हामी श्रीमान श्रीमती नेपालमै आएर बस्ने योजनामा छौँ, उतै बस्ने योजनामा छैनौँ।

नेपालमा हुने राजनीतिक विषयमा तपाईंको चासो र चिन्ताको प्रतिक्रिया आएको हुन्छ नि किन?

देशमा समस्या बढेपछि पीर पर्छ र प्रतिक्रिया जनाउछौँ। बाहिर जान परेको पनि राजनीतिक अकर्मण्यताको कारणले हो। राम्रो भएको भए कोही पनि नेपाली विदेशमा जानुपर्ने थिएन। देशको माया लागेर राजनीतिक विषयमा प्रतिक्रिया दिन्छु कहिलेकाहीँ। तर, किन गाली गर्छस् धेरै नखोक् भनेर भन्छन्। स्वदेशभन्दा विदेश गएपछि देशको माया धेरै लाग्दो रहेछ।

पहिले चलेका गीतहरू फेरि रेकर्ड गर्न थाल्नुभएको छ, किन?

ती क्यासेटका लागि मात्र बनाएको, अहिले युट्युबमा आउने गरेर फेरि रेकर्ड गरेर नयाँ बनाउँदै छु। ‘जाऊ बाबु नभन्नु आमा...’ म आफैँले गाएको हो तर त्यो गीत पढ्ने बेलामा स्कुल जान नपाएर साहुको मेलामा काम गर्न जानुपर्ने बाध्यताको बालकको गीत भएकाले बाल आवाज मलाई चाहिएको थियो अहिले सुप्रिम मल्लको स्वरमा राम्रो लागेर नयाँ रेकर्ड गरेको हुँ।

व्‍यस्त अमेरिकी जीवनशैलीमा समय कसरी मिलाउनुहुन्छ?

धेरै काम नभ्याएका पनि छन्। गाडीमा हिँड्दा हिँड्दै पनि गीत लेखेर राख्ने गर्छु। समय खेर फाल्न पाइँदैन समयको अभाव धेरै छ। तर, अहिले नेटको कारणले नेपालकै काम पनि उतैबाट गरिरहेका हुन्छौँ।

राम्रो गीत लेख्‍न-गाउन कहाँ सिकेको?

आमाको काखदेखि, गाउँको वातावरणले सिकाएको हो। क्यासेट बजाउँदै लाहुरे आउँथे तिनैले प्रेरणा मिलेको हो। चाडबाडमा, मेलापर्वमा गाउने गीतहरूबाट सिकेको हुँ।

औपचारिक गायनको थालनी कहिलेदेखि गर्नुभयो?

राष्ट्रिय प्रतियोगिताहरूमा गाउन थालेको २०५० सालबाट, गीत रेकर्ड गरेको २०५५ सालबाट। मेरो पहिलो गीत ‘कोठी गालैमा’ हो। बिमा कुमारी दुरा दिदीसँग गाएको थिऐँ। मेहनत गर्नु पर्दथ्यो, अहिले त्यो मेहनत नभएरै होला गीतहरू राम्रो आउन छोडेको छ। श्रोता–दर्शकको गुनासो जायज छ।

तपाईंको जन्म ठाउँ कहाँ हो?

स्याङ्जा जिल्लाको रतनपुर, चापाकोट, थातबास अहिले पनि त्यहीँ छ। योपटक पनि घरमा पुग्छु। घरमा गाउँमा पुगेपछि धेरै आनन्द आउने गर्दछ। आमाको काख र आफ्नो जन्मठाँउ उस्तै लाग्छ।

लोकगीत कस्तो गीत हो?

भोगेको भोगाइ नै गीत हो। वास्तविक जीवनको घटित दुःख सुखलाई हामी गीतमा उन्ने गर्दछौँ। सामान्य कुरालाई लयमा ढालेर गाउनु लोकगीत हो।

लोकगीत व्‍यवसाय हो कि होइन, के भन्नुहुन्छ?

पहिले थिएन अहिले भयो। तर, हाम्रो मौलिक सम्पदा व्‍यवसाय मात्रै चाहिँ होइन। अहिले गीतहरू हेर्ने बनेपछि भ्युजका लागि मात्र ध्यान दिँदा गीतहरू छाडा भएका छन्। भ्युज बढ्ने गीत लेख्न मलाई पनि आउँछ, लेख् भनेर उचाल्छन् पनि।

तपाईंका गीतले पनि अपजस पाएका छन्?

मलाई र मेरा गीतलाई आएको छैन। त्यस्तो गीत लेख्दा पनि लेख्दिनँ र गाउँदा पनि गाउँदिनँ। मेरो अनुरोध हामी कलाकारले पनि राम्रो गीत बनाउने कोसिस गर्नुपर्छ र श्रोता–दर्शकले पनि राम्रो गीत हेर्ने र सुन्ने बानी गर्नुपर्छ।

लोकदोहरी गीतहरू प्राय: संकलन हुन छोडेर रचना हुन थाले किन?

संकलन गर्न गाउँमा गए पनि बजारमा आएका गीत नै पाइन्छन्। पहिलेका गीतहरू पनि कसै न कसैले रचना गरेका हुन्, रचनाकार थाहा नभएको हो। रचनाका गीत पनि लोककै गीत भएकाले यिनलाई पनि लोकको सम्पत्ति मात्र मिल्छ होला।

गीतबाट केके कमाउनुभयो?

मैले कमाएको माया हो, अपार माया पाएको छु। कमाउन त गीतबाट पैसा पनि कमाएको छु तर त्योभन्दा धेरै माया पाएको छु। आज म जे छु जस्तो छु त्यो सबै मलाई माया गर्नुहुने श्रोता–दर्शकको कारणले हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.