|

मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो–

‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’

यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो।

त्यसको लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरुगरे–

‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर

आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’

यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो।

त्यो क्रमलाई ‘भेँडाको ऊनजस्तो’ले झनै तीब्रता दियो। त्यसपछि आफ्नो सर्वकालीक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो।

त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे।

‘यो तीन दशकभन्दा लामो यात्रामा तपाइँहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच साँगीतिकदेखि लिएर मिलन विछोडसम्मका अनेक यादहरु छन्।’

यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए–

‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’

अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्बिर देखाइएको थियो।  

कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनुअघि अमृत फेरि बोल्न तम्सिए। त्यतिबेला उनले साँगीतिक मात्र नभइ सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दैआएको नेपथ्यका बारे ब्याख्या गरे।

स्थानीय समयअनुसार बेलुकीको ठीक साढे छ बजे सुरुभएको कन्सर्ट सोह्रवटा गीत र दुइवटा म्यूजिक भिडियो देखाएर दुइघन्टाभन्दा बढी अवधि चलेको थियो। सँधैझैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म आइपुग्दा हलभरि जताततै दर्शकहरु नृत्य गरिरहेका देखिन्थे।

मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रुव लामा ड्रमसेट, सुरज थापा ९किबोर्ड०, सुबिन शाक्य ९बेस गितार०, निरज गुरुङ गितार र शान्ति रायमाझी मादलले सघाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.